हुलाकी न्यूज, राजविराज २२ फागुन । नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानविरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज राजविराजमा मसाल जुलुस निकालेको छ ।
नेकपा एमाले मधेश विरोधी भन्दै मोर्चाका नेता कार्यकर्ताहरुले राजविराजमा विशाल मसाल जुलुस प्रदर्शन गरेका छन् ।
एमालेको कुनै पनि कार्यक्रम सप्तरीमा हुन नदिने चेतावनी मोर्चाका नेताहरुले दिँदै आएका छन् । यसअघि शनिबार एमालेको अभियानको पर्चा वितरण गरिरहेका एमालेका एक जिल्ला नेतालाई मोर्चाका नेताहरुले कालोमोसोसमेत दलेका थिए ।
यसैगरी, सोमबार सप्तरीमा हुने भनिएको एमालेको अभियानलाई विथोल्न मधेशी मोर्चाले बन्दको आह्वानसमेत गरेको छ । अहिले सप्तरीको अवस्था तनावग्रस्त रहेको छ ।



