हुलाकी न्यूज, काठमाडौं १७ फागुन । मधेशवादी दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
संयुक्त मधेशी विद्यार्थी मोर्चाले मंगलबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया तत्काल रोक्न माग गर्दै प्रधानमन्त्री निवास बाटुवाटारमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
संविधान संशोधन विधेयकलाई टुंगो नलगाई मधेशमा कुनै पनि निर्वाचन हुन नसक्ने भन्दै मधेशी विद्यार्थी मोर्चाले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
स्थानीय तहको निर्वाचन घोषणाले मधेश पूर्ण रुपमा आन्दोलित भएको अवस्थामा कुनै पनि निर्वाचन सम्भव नभएको ठहर मधेशी विद्यार्थी मोर्चाले गरेको छ ।
यथास्थितिमा स्ववियु निर्वाचन हुन नसक्ने भन्दै मधेशी विद्यार्थी मोर्चाले निर्वाचन स्थगनको माग गर्दै विभिन्न चरणका आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेका छन् ।
मधेशी विद्यार्थी मोर्चाले कुनै ठाउँमा निर्वाचन हुने र कुनै ठाउँमा निर्वाचन नहुनुले देशको एकरुपता माथि प्रश्न उठेको ठहर गर्दै अविलम्ब स्ववियु निर्वाचन रोकी देशैभरि एकैचोटि निर्वाचन गराउन माग गरेको छ ।



