हुलाकी न्यूज, काठमाडौं १३ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले भावी आन्दोलनका कार्यक्रम तय गर्नका लागि ९ सदस्यीय कार्यदल गठन गरेको छ ।

केन्द्रीय आन्दोलन मूल परिचालन समितिको शुक्रबार बसेको बैठकले मोर्चा/गठबन्धनसँग सत्तारुढ कांग्रेस–एमालेले गरेको सहमतिलाई उल्लंघन गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको विरुद्धमा सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

आन्दोलनका भावी कार्यक्रम तय गर्नका लागि फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरिएको गठबन्धनका प्रवक्ता डा. ओम गुरुङले विज्ञप्तिमार्फत् जनाएका छन् ।

सो कार्यदलको सदस्यहरुमा बृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका छन् । आन्दोलनका कार्यक्रमहरु गठबन्धनको बैठकमा प्रस्तुत गर्न कार्यदललाई एक हप्ताको समय दिइएको हो ।

उक्त कार्यदलले भावी आन्दोलनका कार्यक्रमहरु तय गर्ने, आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल÷नागरिक समाज/विभिन्न सामाजिक संघ संस्थासँग छलफल तथा समन्वय गरी उनीहरुलाई आन्दोलनमा समर्थन गर्न र सहभागी हुन आह्वान गर्ने निर्णय गरेको छ ।

संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता बारे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरी अर्को बैठकमा निर्णय गर्ने गठबन्धनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.