
हुलाकी न्यूज, काठमाडौं १० फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार साँझ मधेशमा मसाल जुलुस प्रदर्शन गर्दैछ । सरकारद्धारा घोषित निर्वाचनको विरोधमा मोर्चाले घोषणा गरेको आन्दोलनको कार्यक्रम अनुसार आज पहिलो दिन मसाल जुलुस प्रदर्शन हुँदैछ ।
मधेशका मुख्य मुख्य सहरमा मंगलबार विहानैदेखि मधेशी मोर्चा कार्याकर्ताहरुले विरोध प्रदर्शन गरिरहेका छन् । बीरगञ्ज र जनकपुरलगायतका सहरमा मधेशी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर मंगलबार प्रदर्शन गरेका छन् ।
मोर्चाले बुधबार एक दिन मधेश बन्दको आह्वान गरेको छ । तर मधेशी मोर्चाकै नेताहरुले मधेश बन्दको विरोध गरेका छन् । उनीहरुले मधेशी मोर्चाका सांसद र नेताहरुलाई व्यवस्थापिका संसदबाट राजिनामा गरेर आउन आग्रह गरेका छन् ।
सर्वदलीय बैठक बहिस्कार
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक मधेशी मोर्चाले बहिस्कार गरेको छ । मंगलबार दिउँसो तीन बजे संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बस्किार गरिएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले हुलाकी न्यूजलाई बताए ।
मोर्चाको सहमति विना सरकारले निर्वाचन घोषणा गरेको र संविधान संशोधन प्रक्रिया अगाडि बढाउन नसकेको भन्दै मोर्चाले सर्वदलीय बैठक बहिस्कार गरेको हो ।
कर्णले प्रधानमन्त्रीको भाषण धेरै सुनिएकोले अव भाषण सुन्न मात्र मोर्चा सर्वदलीय बैठकमा नजाने बताए । –
- फाईल फोटो



