SLR-Gun
लुटिएको हतियार भेट्यो भनेर अनलाइनखबरमा प्रकाशित तस्बिर ।

प्रहरीले आफै हतियार लुकाएर हतियारको निगरानी गर्दैछ

हुलाकी न्यूज, मर्चवार । मधेशमा हुने जुन सुकै आन्दोलनमा प्रहरीले दमन गर्ने तरिका खोज्छन् । शान्तिपूर्ण हुने आन्दोलनलाई हिंस्रक बनाउन खोज्छन् । र, आन्दोलनकारीलाई आक्रमक बनाएपछि अन्दाधुन्ध गोली र लाठी बर्षाउने काम गर्छन् । यो सामान्य कुरा हो, जुनसुकै सुरक्षा संयन्त्रले गर्ने काम हो ।

तर, पछिल्लो समय मधेशीहरुमाथि दमन गर्न र घरघरमा प्रवेश गरी कुट्ने नौलो बाहाना खोजेका छन् । ‘प्रदर्शनकारीले हतियार लुट्यो’ । र, यसै हेडलाइनलाई काठमाडौंबाट मधेश नझरेका ‘कोठे सम्पादकहरु’ प्राथमिकता दिन्छन् ।

बगौली र अरौलीको बीचमा रहेको मचकोलवा पोखरी नजिकैको गहुँ खेतमा प्रहरीले आफै ग्याँस गन लुकाएको प्रहरी स्रोतको भनाईछ । त्यो हतियारको निगरानी प्रहरी स्वयम्ले गरिरहेको एक प्रहरीले हुलाकी न्यूजलाई बताएका छन् ।

हतियार शब्द नै संवेदनशिल हो । यस शब्दलाई देखाएर शान्तिपूर्ण आन्दोलनलाई पनि काठमाडौंका मिडियाले हिंस्रक बनाउन खोज्छन् । र, प्रहरीले सोही नाउँमा दमन गर्न चाहन्छन् । हतियार खोसियो वा हतियार लुटियो सुनेपछि काठमाडौंका कथित राष्ट्रवादीको राष्ट्रवाद जाग्छ र भन्ने गर्छ,‘वारीकाले लुटेको हो की पारीका ले ? आन्दोलनमा पारीबाट आएकाहरुको घुसपैठ भयो । यो निकै सम्वेदनशिल कुरा हो । मधेशी–थारुहरु सोझा छन् यी सबै आन्दोलन पारिकाले गरेका हुन् । तिनीहरुलाई ठोक्नु पर्छ ।’

तर बास्तविकता बेग्लै हुन्छ । पछिल्लो समय प्रहरीले मधेश आन्दोलनमा हतियार लुटिएको आरोप लगाएको घटनाहरुलाई नियालौं ।

१) तेस्रो मधेश आन्दोलनमा प्रहरीले राजिव राउतको हत्या गरेपछि हतियार लुटिएको र प्रहरी चौकीमाथि गोली प्रहार भएको आरोप लगायो । जसको नाममा भारदहका स्थानीयबासीको घरघरमा प्रवेश गरी कुटपिट गरे । सडकमा अन्दाधुन्ध गोली चलाउँदा औषधी पसलमा उपचार गराएका विरामीहरुलाई पनि गोली लाग्यो । तर अनुसन्धान हुँदा न त प्रहरीको हतियार नै लुटिएको थियो न त प्रहरी चौकीमाथि गोली नै चलेको थियो ।

२) टिकापुर घटनामा सुरक्षा निकायको गोलीबाट बालक डेकेन्द्र साउद मारिएपछि प्रहरीले हतियार लुटिएको आरोप लगाए । थारु आन्दोलनकारीले हतियार लुटेर लगेको र सोही हतियारबाट साउदको हत्या गरेको आरोप सुरक्षा निकाय छ । तर घटना लगतै भएको छानविनको प्रतिवेदन सुरक्षा निकायले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

साउदको हत्या प्रहरीकै गोलीबाट भएको टिकापुर अस्पतालका डाक्टरहरुले हुलाकी न्यूजलाई बताएका थिए । साउदको पोष्टमार्टम रिपोर्ट पनि प्रहरीले सार्वजनिक गर्न दिएनन् । सार्वजनिक भएको भए कस्तो गोलीबाट साउदको मृत्यु भएको हो भन्ने आफै खुल्ने थियो ।

हतियार खोजीको नाउँमा सुरक्षाकर्मीहरुले थापापुर, मुनुवा र जोसीपुरसहित टिकापुर आसपासका गाउँमा महिनौंसम्म घरघरमा प्रवेश गरी कुटपिट गरेको मानवअधिकारवादी संस्थाहरुको रिपोर्टमा देख्निछ । टिकापुर घटनापछि थारु महिलामाथि यौनदुव्र्यहारदेखि चरम याताना भएको प्रतिवेदनले देखाएको छ । पछि प्रहरीले हतियार भेटिएको आफै बताए ।

३) बर्दियाको मैनापोखरमा नेपाल प्रहरीका इन्सपेक्टरले गोली चलाउँदा हवल्दार देबबहादुर पाण्डेको मृत्यु भयो । तर सुरक्षा निकाय र काठमाडौंको मिडियाले थारु आन्दोलनकारीले प्रहरी हवल्दारको हत्या गरेको आरोप लगाए । सोही नाउँमा प्रहरीले मैनापोखर आसपासका आधा दर्जन गाउँमा प्रवेश गरी घरघरमा कुटपिट गरे । त्यहाँ पनि थारुहरुले हतियार लुटेको आरोप लगाइयो । प्रहरीको हतियार लुटी प्रहरीमाथि धान खेतबाट गोली चलाइएको आरोप लगाइयो । तर पछि अनुसन्धान हुँदा प्रहरी इन्सपेक्टरको गोलीबाट हबल्दार मारिएको भेटियो । कुनै हतियार पनि नलुटिएको देखियो । तर हतियार लुटिएको नाउँमा प्रहरीले ६ वर्षीया बालिकादेखि ८५ वर्षीया बृद्धालाई समेत घरमा थुनेर कुटेका थिए ।

४) सबभन्दा पछिल्लो घटना, रुपन्देहीको मर्चवारमा हतियार लुटियो रे ? रुपन्देहीको मर्चवार क्षेत्र डा.सीके राउतको पकड क्षेत्र हो । त्यहाँ वर्षौदेखि प्रशिक्षण चल्दै आएको छ । प्रजातन्त्र दिवसको अवसरमा डा.राउतले मर्चवारको मजगावामा लाहान जस्तै शक्ति प्रदर्शन गर्ने कार्यक्रम राखेका थिए । राउतको शक्ति प्रदर्शनबाट आतिएका सरक्षा संयन्त्रले शक्ति प्रदर्शन गरिनु अघि नै राउतलाई पक्राउ गरे ।

राउत पक्राउ परेपनि प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम गर्ने तयारी स्वतन्त्र मधेश गठबन्धनको थियो । कार्यक्रमको प्रचार प्रसार सामाग्री प्रहरीले लुट्नका साथै गामघरमा लागेको पोष्टर प्रहरीले नै च्यातेका थिए । सात गते मजगावाको एक विद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुन विभिन्न गाउँबाट जाँदै गरेका मधेशीहरुलाई प्रहरीले विभिन्न ठाउँमा रोकेर लाठी चार्ज तथा हवाई फाईर गरी धपाए । सोही घटना चर्किदै गर्दा ८ गते आइतबार स्वतन्त्र मधेश विद्यार्थी युनियनले रुपन्देहीका शिक्षण संस्था बन्दको आह्वान गरेका थिए ।

आइतबार भैरहवा बाहेक रुपन्देहीका अधिकांश शिक्षण संस्था बन्द थियो । पक्राउ परेका विद्यार्थीहरुको रिहाइको माग गर्दै विद्यार्थी युनियनले प्रदर्शन गरे जसमा विद्यार्थीको उलेख्य सहभागिता देखेपछि प्रहरी आतिएको थियो । अत्याधिक बल प्रयोग गर्यो । सोही क्रममा छात्राहरुमाथि प्रहरीले अत्याधिक बल प्रयोग गर्यो ।

अवस्था प्रहरीको नियन्त्रणभन्दा बाहिर गएपछि र महिला तथा छात्राहरुमाथि प्रहरीले अत्याधिक बल प्रयोग गरेको पछि प्रहरीले हतियार लुटिएको नाटक गरे । काठमाडौंबाट संचालित एमाले निकट मानिएको अनलाइनखबरले प्रहरीको आग्रहमा समाचार सार्वजनिक गर्यो ।

उक्त अनलाईनले समाचार सार्वजनिक गर्दासम्म कुन कुन हतियार लुटिएको आरोप लगाउने भन्ने कुरा प्रहरी अधिकारीलाई नै थाहा थिएन । सुरुमा एउटा मात्र हतियार लुटिएको प्रहरीले बताए ।

त्यसपछि अरु मिडियाहरुले पनि समाचार हाल्न थाले । प्रहरीलाई सञ्चारकर्मीहरुको फोन गएपछि ठूलै हतियार लुटिएको प्रहरीले बताउन थाले । त्यसपछि प्रहरीले आफै लुकाएको एसएलआरको फोटो खिचाउन सञ्चारकर्मीलाई लिएर गए । एसएलआरको फोटो खिच्न पुगेका पत्रकारहरुका अनुसार हतियारको अवस्था हेर्दा प्रहरीले आफै लुकाएको र त्रास पैदा गर्न नाटक गरेका थिए ।

अर्को ग्याँस गन प्रहरी आफैले लुकाएको प्रहरी स्रोतको भनाइछ । बगौली र अरौलीको बीचमा रहेको मचकोलवा पोखरी नजिकैको गहुँ खेतमा प्रहरीले आफै ग्याँस गन लुकाएको प्रहरी स्रोतको भनाईछ । त्यो हतियारको निगरानी प्रहरी स्वयम्ले गरिरहेको एक प्रहरीले हुलाकी न्यूजलाई बताएका छन् ।

यस्ता हतियार लुटिएको नौटंकी प्रहरीले सर्वसाधारणमाथि बल प्रयोग गर्न वा सुरक्षा संयन्त्रले गरेको अत्याधिक बल प्रयोगलाई ढाकछोप गर्न गर्ने गरेका छन् । रुपन्देही घटना पनि यसैको निरन्तरता हो ।

1 COMMENT

  1. एकदम सहि कुरो यो समाचार ले के बुझ्नु हुन्छ ?आखिर मा किन एत्ति ठूलो राजनिती के कस्को लागि ? को हो दोसि त?जनता जान्न चाहान्छ।यो समाचार सबै माझ पुर्याउ।।।।।।के आफ्नो पहिचान अनि जातियता को माग गर्नु गलत हो ?यो कुरा सर्कार सामु जायोस अनि छित्तै नै कर्यान्वन होस। जय थरुहत।।।।।।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.