
हुलाकी न्यूज, मर्चवार(रुपन्देही) ८ फागुन । रुपन्देहीको मर्चवार क्षेत्रमा आज दिनभरी प्रहरी र विद्यार्थीबीच झडप हुँदा ५० जनाभन्दा बढी घाइते भएका छन् भने दुई जना युवती बेपता छन् ।
घटना स्थाल पुगेका मानव अधिकारकर्मीहरुको टोलीले झडप पछि सिलौरिया ९ की १९ वर्षीया सरस्वती मौरिया र १४ वर्षीया लक्ष्मी मौरिया बेपता रहेको हुलाकी न्यूजलाई बताएका छन् । ती युवतीहरुको व्यापक खोजी भइरहे पनि अबेर साँझसम्म नभेटिएको परिवारजनले जनाएको छ ।
तराई मानव अधिकार रक्षक सञ्जालका शैलेन्द्र अम्बेडकरका अनुसार प्रहरीको कुटाईबाट दुई जना छात्रा बेहोस भएकी छन् । कक्षा १० मा अध्ययनरत सम्भावती यादव र १८ वर्षीया सेसलता गोसाईलाई प्रहरीले खेतमा पछाडेर कुटपिट गर्दा उनीहरुको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, प्रहरीकै कुटाईबाट पुनम मौरिया पनि गम्भीर घाइते भएकी छन् । पुरुष प्रहरीहरुले सडकबाट भाग्दै गरेकी युवतीहरुलाई खेतमा पछाडेर कुटपिट गरेको मानव अधिकारकर्मी अम्बेडकरले हुलाकी न्यूजलाई जानकारी गराएका छन् ।
त्यस्तै, प्रहरीको कुटाईबाट घाइते भएका कृष्ण हरिजनको अवस्थामा पनि गम्भीर रहेको छ ।
स्वगतन्त्र मधेश गठबन्धनका अनुसार आइतबार दिनभरीमा करिब ५० जनाभन्दा बढी घाइते भएका छन् । स्वतन्त्र मधेश विद्यार्थी युनियनको प्रदर्शन पछि प्रहरीले घर–घरमा प्रवेश गरी लाठी चार्ज गरेको थियो । जसबाट बृद्धबृद्धासहित महिलाहरु बढी घाइते भएका छन् ।
गठबन्धनका प्रवक्ता अब्दुल खानका अनुसार प्रहरीले आफै बन्दुक लुकाएर बन्दुक लुटिएको आरोप लगाएका छन् । घर–घरमा प्रवेश गरी कुट्ने बाहानाका लागि बन्दुक लुटिएको आरोप प्रहरीको रहेको खानले बताए ।
प्रजातन्त्र दिवसको अवसरमा शनिबार स्वतन्त्र मधेश गठबन्धनले मर्चवारको मझवागामा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । जस क्रममा प्रहरीले दुई दर्जनभन्दा बढी विद्यार्थीलाई पक्राउ गरेको छ । आइतबार पनि ठूलो संख्यामा राउतका कार्यकर्ताहरु पक्राउ परे पनि प्रहरीले संख्याको बारे पुष्टि गरेको छैन ।
यता लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी दिपक थापाका अनुसार आइतबारको झडपको क्रममा ५ राउण्ड हवाई फाईर र ५ राउण्ड अस्रु ग्याँस प्रहार गरिएको छ । पक्राउ र घाइते बारे जानकारी आउन बाँकी रहेको थापाले बताए ।





Speaker Abdul Khan has not any responsibility for safety and welfare of his community.i think so…..Sorry..