
हुलाकी न्यूज, काठमाडौं ८ फागुन । मधेशी मोर्चाका नेता तथा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेशको समस्या समाधान नगरी चुनावको मिति घोषणा गरिए काठमाडौं–मधेशको धागो कमजोर हुने चेतावनी दिएका छन् ।
राजधानी आइतबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका झाले यस्तो चेतावनी दिएका हुन् । उनले भने, ‘अब पनि धोकाधडीको राजनीति लागु नगरौं, जबरजस्ती चुनाव घोषणा गरिए भीडन्तबाहेक केही हुँदैन ।’
उनले सरकारले चुनावको मिति घोषणा गरे नेपालमा भीडन्तको राजनीति सुरु हुने चेतावनी दिए । उनले भोलि चुनावको मिति घोषणा हुन्छ भने त्यो नहुने निर्वाचन रहेको दाबी गरे ।
झाले भने, ‘जबरजस्ती चुनाव गरिए मधेशी जनतालाई सहिद बनाउने चुनाव हुनेछ, हजारौं मान्छेहरुलाई सहिद बनाउने बाहेक यो निर्वाचनले केही निकास दिँदैन, हामी बरु सहिद बन्न तयार छौं तर मधेशमा चुनाव हुन दिँदैनौं ।’



