
हुलाकी न्यूज, काठमाडौं ८ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजकिशोर यादवले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरे अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिने चेतावनी दिएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘यदि संविधान संशोधन नभईकन मिति घोषणा भए, मोर्चाले त्यसको आधा घण्टाभित्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको कार्यक्रम घोषणा गर्छ, अब हुने आन्दोलनले जनविद्रोहको स्वरुप लिन्छ ।’
मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्षसमेत रहेका यादवले अघि थपे, ‘तर अझैपनि हामी यो सरकारले त्यसो गर्दैन भन्नेमा आशावादी छौं, गर्यो भने सरकारले सबैभन्दा ठूलो संकट व्यहोर्छ ।’
उनले सरकारले निर्वाचनको मिति घोषणा गरेपनि निर्वाचन कुनै हालतमा हुन नसक्ने ठोकुवा गरे । यादवले थपे,‘स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदन पनि विवावस्पद छ, त्यसलाई सच्याउनको लागि सरकारले गठन गरेको समितिको प्रतिवेदनपनि सावर्ज्निक भएको छैन, अनि के को चुनाव गर्ने ?’
उनले एमालेले विषयवस्तुलाई बँग्याएर पहिलादेखि नै खाँदै आएको र अहिलेपनि जनताको अधिकार खोसेर सत्तामा जान खोजेको आरोप लगाए । यादवले भने, ‘एमालेको यो सोच संक्रिण र नश्लीय सोच हो, एमालेको सबै कर्तुत नाँगाझारो हुँदैछ ।’



