janakpurdham
हुलाकी न्यूज, जनकपुरधाम ८ फागुन ।
आधुनिक जनकपुर विकासका लागि स्थानीय स्तरमा यूवाहरु रचनात्मक कार्यमा सक्रिय भएका छन् ।

जनकपुरको अधिकांश पोखरी तथा तलाउहरु फोहर तथा अतिक्रमणको चपेटमा पर्न थालेपछि केहि वर्ष देखि सुरु भएको पोखरी तथा तलाउ सरसफाई अभियान अन्तर्गत यूवाहरुले अंगराज सागर पोखरीमा रंगविरंगी माछाको भुर्राहरु राखेर सरसफाई तथा संरक्षण अभियानमा जुटेका छन् ।

जनकपुरको जानकी चोक स्थित अंगराज सागर पोखरीमा १० हजार भन्दा बढी रंगविरंगी माछाको भुर्रा राखेर पोखरी सरसफाई तथा संरक्षण अभियानमा स्थानीय स्तरमा लागि परेको जानकी चोक वडा नम्बर १० बस्ने दिपेन्द्र साह बताउछन् ।

जानकी जलासय संरक्षण समितिको अगुवाईमा विभिन्न क्लब तथा समितिहरुको समन्वयमा जानकी चोकमा पर्ने तेलहा, मरहा र अंगराज सर सागर पोखरी लगायतकालाई सरसफाई तथा संरक्षण गर्नको लागि स्थानीय स्तरमा यूवाहरु लागि परेको साहको दावी छ ।

जानकी जलासय संरक्षण समितिको संयोजक सुशिल कर्णले अंगराज सर सागर पोखरी पौराणिक, सांस्कृतिक र सभ्यताको परिचय रहेकोले यस पोखरीमो सौन्दर्यकरणको लागि हामीहरु एकजुट भई अगाडी बढ्नु पर्ने जरुरी रहेको बताए । उनले विगतमा यस धार्मिक पोखरीबाट माछा विक्रि वितरणको लागि ठेक्कापट्टा लाग्ने गरेको तर सो कार्यबाट यस पोखरीको संरक्षण, संबद्र्धन र विकासको लागि कुनै किसिमको कार्य सम्बन्धित निकायले नगरेकोले स्थानीय स्तरमा यूवाहरु एक जुट भई अग्रसरता लिएको बताए ।

यस पोखरीमा रंगविरंगी माछाहरु राख्नको लागि गंगासागर सरसफाई अभियानी रामअशिष यादवको पहलमा ननुपट्टी गाउँबाट १० हजार माछाको भुर्रा ल्याई राखिएको जानकी यूवा क्लबको महासचिव मोहन रौनियारले बताए ।

रंगविरंगी माछाको भुर्रा राख्नको लागि विशेष समारोहको आयोजन गरी अंगराज सर सागर पोखरीमा राखिएको हो ।
सो अवसरमा गंगासागर सरसफाई अभियानी रामअशिष यादव, मानवअधिकारकर्मी वीरेन्द्र कर्ण, ट्राफिक प्रमुख हरीनन्दन चौधरी, ठेकेदार बलराम महतो, जनकपुर उद्योग वाणिज्य संघको सचिव सुरेन्द्र भण्डारी, शिवजी राय र रामचन्द्र साह लगायतका वक्ताहरुले यूवाहरुको यस कार्यको प्रशंसा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.