
रबिन्द्र प्रताप गुप्ता, भैरहवा ८ फागुन । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालको क्षेत्रीय प्रशिक्षण केन्द्र भैरहवाद्धारा संस्थाका नियमित सदस्य विद्यार्थीहरुका लागि आयोजित तीन दिवसीय स्व–परिवर्तन योग साधना एवम् आध्यात्मिक प्रशिक्षण कार्यक्रमको शनिबार एक समारोहका वीच भैरहवामा समापन भएको छ ।
ब्रह्माकुमारी परिवार भैरहवाका दुई सय पचास सदस्यहरुको सहभागिता रहेको प्रशिक्षणमा संस्थाका अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबू राजस्थानका वरिष्ठ राजयोग प्रशिक्षक ब्रह्माकुमार राजु, निर्देशक राजयोगिनी परनीता दिदी, दिल्लीका ब्रह्माकुमार राजेन्द्र प्रसाद लगायतले राजयोगका विविध गहन पक्षमाथि प्रकाश पार्दै प्रशिक्षण दिएका थिए ।
पहिलो पटक बुद्धभूमि आएका प्रशिक्षकहरुले संस्थाको दिव्यशान्ति रिट्रिट सेन्टर भैरहवाको व्यवस्थापन, कार्यक्रम, सहभागिता लगायतका सबै पक्ष उत्कृष्ट रहेको भन्दै प्रशिक्षणका सिकेका कुरा जीवनमा उतार्न सबैलाई आग्रह गरे । सहभागीहरुलाई उपहार र प्रसाद वितरण गरिएको कार्यक्रमको अन्त्यमा प्रशिक्षकहरुलाई नेपाली ढाकाको टोपीले सम्मान गरिएको थियो ।



