
रबिन्द्र प्रताप गुप्ता, भैरहवा ३ फागुन । ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय नेपालको क्षेत्रीय प्रशिक्षण केन्द्र भैरहवाको निमन्त्रणामा संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय माउण्ट आबू राजस्थानका वरिष्ठ राजयोग प्रशिक्षक राजयोगी ब्रह्माकुमार राजेन्द्र प्रसाद (राजू) चार दिनका लागि बुधबार भैरहवा आउँदै छन् ।
ब्रह्माकुमार राजूले संस्थाको क्षेत्रीय प्रशिक्षण केन्द्र दिव्यशान्ति रिट्रिट सेन्टर भैरहवामा संस्थाका नियमित सदस्य विद्यार्थीहरुका लागि आयोजना हुने गहन राजयोग अनुभूति सम्बन्धि “स्व परिवर्तन राजयोग तपस्या कार्यक्रम” मा विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको संस्थाका सचिव तथा कार्यक्रम संयोजक ब्रह्माकुमार भूपेन्द्र अधिकारीले जानकारी दिए ।
विगत ४५ वर्षदेखि संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय पाण्डव भवन माउण्ट आबूमा आफ्नो महत्वपूर्ण सेवा दिंदै आउनु भएका मानसिक एकाग्रता र दिव्य बुद्धिका धनी ब्रह्माकुमार राजूले ईश्वरीय सेवाको क्रममा दर्जनौं विदेशी राष्ट्रको भ्रमण गरिसकेका छन् ।
संस्थाको ग्राम विकास विभागका मुख्यालय संयोजक समेत रहेका राजयोगी राजूको निर्देशनमा शाश्वत यौगीक खेती योजना, स्वच्छता अभियान, किसान सशक्तिकरण अभियान, व्यसनमुक्ति अभियान लगायत महत्वपूर्ण कार्यक्रमहरु सञ्चालित छन् ।



