
हुलाकी न्यूज, भैरहवा २६ माघ । स्वतन्त्र मधेशी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस इकाई समितिले नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम बुधबार क्याम्पस प्राङ्गणमा भव्य र सभ्य रुपमा गरेको छ ।
विभिन्न गाउँ, टोल र जिल्लाबाट आएका विद्यार्र्थीहरुका लागि मधेशी दलका विभिन्न विद्यार्थी संगठनहरुले साझा रुपमा कार्यक्रम गरी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा तराई–मधेश लोकतान्त्रिक पार्टीका जिल्ला उपाध्यक्ष, रुपन्देहीका लोकप्रिय युवा नेता अजय कुमार गुप्ताले विद्यार्र्थीहरु समाज परिवर्तकका संवाहक भएकाले पुरानो परम्परा भत्काउदै नया संरचना निर्माणमा अगाडी वढनुपर्ने बताए ।
उनले देश अहिले संक्रमणकालमा रहेकाले पनि विश्वविद्यालयमा हुने अबको स्ववियु निर्वाचन राज्यको निम्ति र पढेलेखेका शिक्षित जमातका लागी योग्य विद्यार्थी नेता छान्ने अवसर आएको विद्यार्र्थीहरुलाई बताएका थिए ।
कार्यक्रममा संघीय समाजवादी फोरमका जिल्ला सदस्य विद्या यादवले समेत विद्यार्थीहरुलाई साझा एजेण्डा वनाएर क्याम्पस र विद्यार्थीको गुणस्तरिय विकासमा ध्यान दिन आग्रह गरेका थिए ।
सदभावना पार्टीका युवा नेता प्रशान्त गुप्ताले समेत क्याम्पसमा पढने सवै विद्यार्थी लाई एक भएर अगाडी वढन अनुरोध गर्दै गलत र कुतत्वको विरुद्धमा कदम चाल्न विद्यार्थीहरुलाई हौसाएका थिए ।
तराई–मधेश विद्यार्थी फ्रन्टका केन्द्रीय सदस्य सन्दिप तिवारीले समेत भैरहवा बहुमुखी क्याम्पसमा आगामी स्ववियु निर्वाचन मधेशीको पक्षमा पार्नका लागी सवै विद्यार्थी नेताहरु एक भएर अगाडी बढन निर्देशित गरेका थिए ।
सभापतिका साझा उम्मेदवार मोहम्मद अली
कार्यक्रममा विभिन्न मधेशी दलका नेताहरुको समेत सहभागिता रहेको थियो । सहभागी सवै नेताहरुले आगामी स्ववियु निर्वाचनका लागी भैरहवा बहुमुखी क्याम्पसमा साझा स्ववियु सभापतीमा तराई मधेश विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष तथा भैरहवा बहुमुखी क्याम्पसका विद्यार्थी नेता मोहम्मद अलीलाई उम्मेदवार घोषणा गरेको समाजवादी युवा फोरम नेपालका केन्द्रीय सदस्य असलम खानले जानकारी दिए ।
२०६५ सालको निर्वाचनमा पनि भैरहवा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका मुस्लिम समुदायकै मोजीव अलिले स्ववियु सभापति जितेका थिए । तराई मधेस विद्यार्थी फ्रन्टका जिल्ला अध्यक्ष मोहम्मद अलिको अध्यक्षतामा भएका स्वागत कार्यक्रमको सञ्चालन विद्यार्र्थी नेता चन्दन तिवारीले गरेका थिए ।



