
हुलाकी न्यूज, जनकपुरधाम २४ माघ । स्थानीय निकायका कर्मचारीहरुले सुरु गरेको आन्दोलन अन्र्तगत गणेशमान चारनाथ नगरपालिका विरेन्द्रबजारका कर्मचारीहरु पनि आन्दोलित भएका छन् ।
स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिले देशैभरि सुरु गरेको आन्दोलन अन्र्तगत गणेशमान चारनाथ नगरपालिकाका कर्मचारीहरु पनि आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन जिल्ला समन्वयन समिति धनुषाको मातहतमा रही उनीहरु आन्दोलनमा होमिएका हुन् ।
उनीहरुले लामो समय देखी जनप्रतिविहिन स्थानीय निकायमा अविलम्ब स्थानीय तहको निर्वाचन गर्नुपर्ने, वर्षौ देखी अस्थायी तथा करारमा रही आफ्नो जीवनको उर्जाशील समय जनताको सेवामा व्यतीत गरेको हजारौँ कर्मचारीहरुलाई स्थायी गरी सेवालाई निरन्तरता दिनुपर्ने, कर्मचारीहरुलाई समायोजन गर्दा कर्मचारीहरुको ईच्छा अनुरुप घरपायक स्थानीय तहहरुमा समायोजन गर्ने कुरालाई प्राथमिकता दिनुपर्ने, स्थानीय तहको संरचनामा कर्मचारी व्यवस्थापन र कर्मचारी समायोजन गर्दा स्थानीय निकाहरु म्हा÷उपमहा÷नगरपालिका तथा गाउँ विकास समितिको कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्राथमिकता राखी व्यवस्थापन र समायोजन गरी नपुग जनशक्ति मात्रै निजमाती सेवाबाट पठाईने व्यवस्था गरिनुपर्ने, दक्ष एवं क्षमतावान कर्मचारीहरुलाई प्रदेश तथा संघीय सरकारका माथिल्ला पदहरुमा हुने प्रतियोगितामा सहभगि हुने अवसर खुल्ला गरिनुपर्ने, समायोजनामा जान नचाहने कर्मचारीहरुको लागि विशेष सुविधा सहित स्वेच्छिक अवकास लिन पाउने व्यवस्था गरिनुपर्ने लगायतको माग राखी कर्मचारीहरु चरणवद्ध आन्दोलित भएको स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिले जनाएका छन् ।
चरणवद्ध आन्दोलनको कार्यक्रम अन्र्तगत २०७३ माघ १९ गते संयुक्त माग एवं मुद्दाहरु त्था आन्दोलनका कार्यक्रम सहितको ज्ञापन पत्र संयुक्त रुपमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा बुझाएको, २० र २१ गते आनदोलनको कार्यक्रमहरु प्रदेश, क्षेत्र, अञ्चल, जिल्ला, ईकाईहरुलाई जानकारी गराएको र संयुक्त आन्दोलन परिचालन समिति गठन गरेको, २३ र २४ गते प्रमुख जिल्ला अधिकारी तथा कार्यकारी अधिकृतहरु मार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको तथा स्थानीय निकायहरुमा आन्दोलन सम्बन्धी ब्यानर झुण्ड्याएको, २५ र २६ गते स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले कालोपट्टी बाँधी विरोध जनाउने र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने, २७ गते कालोपट्टी बाँधी बिहान १० बजे देखी ११ बजे सम्म १ घण्टा कलम बन्द गरी कामकाज ठप्प पारी आ–आफ्नो कार्यालयमा धर्न दिने, २८ गते कालोपट्टी बाँधी बिहान १० बजे देखी १ बजे सम्म ३ घण्टा कलम बन्द गरी कामकाज ठप्प पारी आ–आफ्नो कार्यालयमा धर्ना दिने, फागुन १ गते पुरै दिन सम्पूर्ण स्थानीय निकायका सेवाहरु बन्द गर्ने लगायतका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरी स्थानीय निकायका कर्मचारीहरु आन्दोलनमा होमिएका स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिले जानकारी दिएका हुन् ।
यी आन्दोलनले पनि माग पुरा नभए अत्यावश्यक सेवा बाहेक स्थानीय निकायका अन्य सबै सेवाहरु अनिश्तिकालीन रुपमा बन्द गरी स्थानीय निकायमा कार्यरत कार्यालय प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने लगायतका सशक्त आन्दोलनका कार्यक्रमहरु संचालन गर्ने स्थानीय निकाय संयुक्त ट्रेड युनियन आन्दोलन परिचालन समन्वयन समितिले जनाएका छन्



