
हुलाकी न्यूज, काठमाडौं १९ माघ । बारा जिल्लाको सदरमुकामलाई उपमहानगरपालिका घोषणाको माग गर्दै विगत १४ दिनदेखि कलैयामा रिले अनसन गरिरहेका राजनीतिक दल र बारा उद्योग वाणिज्य संघले सरकारलाई कडा चेतावनी दिएका छन् ।
वाणिज्य संघले बुधबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तह पुनर्संरचना आयोगले बारा जिल्लाको सदरमुकाम कलैयाको अस्तित्व मेटाउन षड्यन्त्र गरेको भन्दै आयोगको प्रतिवेदन नसच्चिए खतरनाक आन्दोलन गर्ने चेतावनी दिएको हो ।
आयोगको प्रतिवेदन नसच्याइए बारामा सांसद् र केन्द्रीय नेताहरुलाई प्रवेश निषेध गर्ने चेतावनी दिएको छ । कार्यक्रममा बोल्दै संघका अध्यक्ष विनोद प्रसाद साहले एमालेका केही नेताहरुको लहलहैमा आयोगले कलैयालाई उपमहानगरपालिका नबनाएको आरोप लगाए ।
उनले कलैयालाई उपमहानगर बनाउन सम्पूर्ण मापदण्ड हुँदाहुँदै पनि काठमाडौंमा बसेर केही एमालेका नेताहरुले षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् । उनले यो सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार लगायतका नेताहरुलाई ज्ञापनपत्रसमेत बुझाएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले यो प्रतिवेदनमा त्रुटि भएको स्वकार्दै यसलाई एकदुई दिनमा सच्याउने प्रतिबद्धता दिएको संघका अध्यक्ष साहले जानकारी दिए । शुक्रबारसम्म प्रतिवेदन नसच्याइए आमरण अनसनमा बस्ने, जिल्लामा कुनै किसिमको सरकारी गतिविधि हुन नदिने लगायतका चेतावनीहरु दिएका छन् । साथै अध्यक्ष साहले यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार, प्रतिपक्षी र सरोकारवाला निकायले नै लिनुपर्ने बताएका छन् ।
यसैगरी, पत्रकार सम्मेलनमा फोरम नेपालका नेता तथा पूर्वसभासद् प्रमोद प्रसाद गुप्ताले स्थानीय तह पुनर्संरचना आयोगको यो प्रतिवेदन सच्याउनुपर्ने नभए यसलाई खारेज नै गर्नुपर्ने माग गरेका छन् ।
कलैया नगरपालिकालाई अवैज्ञानिक तरिकाले २५ वटा वडा कायम रहेकोमा २१ नम्बर वडा उत्तरझिटकैयालाई टुक्राउने र कलैया नगरपालिका उपमहानगरपालिका बनाउन आयोगले सिफारिस नगरी कलैयाको अस्तित्व मेटाउने खेलवाड गरेको विज्ञप्तिमा उल्लेख छ ।
३५ हजार जनसंख्या भएको निजगढ नगरपालकालाई १३ वटा वडा र ९९ हजार जनसंख्या भएको कलैया नगरपालिकालाई पनि १३ वटा वडा आयोगले प्रस्ताव गरेको हो ।
बारा कलैया नगरवासीको भावना र मागमा ध्यान नदिएमा जारी रहेको शान्तिपूर्ण आन्दोलन विकराल रुप लिने चेतावनी कार्यक्रममा दिइएको छ ।
पत्रकार सम्मेलनमा एमालेका जिल्ला कार्यसमिति सहसचिव राजेन्द्र प्रसाद कलवार, फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, फोरम लोकतान्त्रिककी नेतृ कलावती पासवान, माओवादी केन्द्रका नेता मुकेश साह, उद्योग वाणिज्य संघका महासचिव राजकुमार गुप्ता लगायतको उपस्थिति रहेको थियो ।



