
हुलाकी न्यूज, काठमाडौं १८ माघ । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले उच्च अदालतका ८० न्यायाधीश नियुक्तिमा गल्ती भएको बताएका छन् । उनले संविधानले दिएको समानुपातिक समावेशिताको सिद्धान्तअनुसार न्यायाधीश नियुक्त नभएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा महान्यायाधिवक्ता श्रेष्ठले सविधान मिच्नका लागि नभएर सबैले पालना गर्नको लागि बनाइएको स्पष्ट पारेका छन् ।
श्रेष्ठले भने,‘उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमा गल्ति भएकै हो, आईन्दा यस्तो गल्ति हुनुहुँदैन, न्यायाधीश नियुक्तिको विषयलाई जहिलेपनि विवादित बनाउने काम भईरहेको छ, यो राम्रो होइन, संविधानले जे गर्नु भनेको छ, त्यो नगरेर फरक काम गर्ने अधिकार कसैलाई छैन् ।’
कार्यक्रममा अधिवक्ता गोबिन्द पन्थीले उच्च अदालतमा गरिएको ८० जना न्यायाधीश नियुक्तिको प्रकरणमा सबैभन्दा ठुलो कमजोरी प्रधानन्यायाधीश सुशीला कार्कीले गरेको आरोप लगाए ।
पन्थीले न्यायाधीश नियुक्ति प्रकरणमा इतिहासमै ठूलो भुल भएको बताउँदै भने, ‘न्यायालय स्वतन्त्र हुनुपर्ने भनेर हाम्रो कानुनको कागजमा मात्रै लेखिएको छ, व्यवहारमा यस्तो देखिएन ।’



