
हुलाकी न्यूज, काठमाडौं १८ माघ । पूर्वन्यायाधीश गिरीश चन्द्र लालको अध्यक्षतामा गठित उच्चसतरीय जाँचबुझ आयोगले मधेश आन्दोलनका क्रममा भएका घटनाहरुको स्थलगत भ्रमण गर्ने जनाएको छ ।
तराई, मधेश र थरुहट क्षेत्रमा भएको आन्दोलनको क्रममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड लगायतका घटनाको सत्यतथ्य छानबिन गर्न आयोगले कैलालीको टीकापुरमा स्थलगत भ्रमण गर्ने भएको छ ।
उच्चस्तरीय जाँचबुझ आयोगका अध्यक्ष र सदस्यहरु संलग्न रहेको टोलीले आगामी माघ २४ गते टीकापुर लगायतका क्षेत्रमा स्थलगत भ्रमण गर्न लागेको आयोगका अध्यक्ष गिरीश चन्द्र लालले जनाएका छन् ।
जिल्लाका सबै उजूरीकर्ता, सरोकारवाला, अन्य सामाजिक संघ संस्था र मानवअधिकारसंग सम्बन्धित संघ संस्थाहरुले उल्लिखित घटनाको सम्बन्धमा आफूसंग भएका फोटो, श्रव्य–दृश्य भए सो समेतका प्रमाणहरु साथै राखी लिखित वा मौखिक जानकारी गराउन पूर्वन्यायाधीशसमेत रहेका अध्यक्ष लालले आग्रह गरेका छन् ।
कैलाली जिल्लाको भ्रमण पश्चात आयोगको टोली झापा, मोरङ र सुनसरी जिल्लामा जाने कार्यक्रम रहेको उनले जानकारी दिएका छन् । यस सम्बन्धमा थप जानकारी चाहिएमा आयोगको कार्यालयमा सम्पर्क राख्न उनले आग्रह गरेका हुन् ।



