हुलाकी न्यूज, जनकपुरधाम १७ माघ । शहीद दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले आईतबार धनुषाको यदुकुहामा श्रद्धाञ्जली सभा गरेको छ । शहीदहरुप्रति फुलमाला अर्पण गरी ईन्सेकले श्रद्धाञ्जलीसभा मनाएको हो ।

२०४६ सालको संयुक्त जनआन्दोलनको बेला शहादत प्राप्त गरेको पाँचै जना शहीदको शालिकमा शहीद दिवसको सन्दर्भ पारी यदुकुहामै पुगेर फुलमाला अर्पण गरी ईन्सेकले उनीहरुलाई सम्झिएका हुन् ।

२०४६ साल फाल्गुन ९ गते प्रहरीको गोली लागि ३ महिला सहित ५ जनाको मृत्यू भएको थियो । ती तीनै महिलाहरु नेपालको प्रथम महिला शहीदमा गनिन्छन् ।

प्रहरीको गोली लागि सहादत प्राप्त गर्नेहरुमा १५ वर्षीय बालक उदय शंकर मण्डल सहित ३५ वर्षीय रामनारायण यादव, महिलात्रय ६१ वर्षीया जानकीदेवी यादव, ४५ वर्षीया मुनेश्वरी देवी यादव तथा ३८ वर्षीया सोनावती देवी यादव थिए ।

शहीद दिवसको सन्दर्भ पारी ईन्सेकले आईतबार तीनै शहीदहरुको शालीकमा माल्यार्पण गरी उनीहरुलाई सम्झिएका हुन् । माल्यार्पण पश्चात् भएको श्रद्धाञ्जली सभामा बोल्दै ईन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले शहीदहरुले देखाएको सपना पूर्णरुपमा अझै पुरा भईनसकेको भन्दै उनीहरुको सपना साकार गर्नुपर्नेमा जोड दिए । उनले अधिकार प्राप्तिका लागि ज्यानको आहुति दिएका शहीदहरुको सही ढङ्गले सम्मान हुन नसकेकोमा दुखेसो पोखे ।

पूर्वसांसद् शिवधारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्याकुरेल ती पाँचै जनाको शहीदको शालीक निर्माण गर्न र शहीदको सुचीमा नामाकरण गराउन ईन्सेकले ठुलो भूमिका खेलेको स्मरण गराउदै उक्त शालीकलाई अझै सुव्यवस्थित पार्न ईन्सेकल थप एक लाख रुपैया सहयोग दिने घोषणा गरे । अध्यक्ष प्याकुरेलले सो रकम फागुन ७ गते प्रजातन्त्र दिवस अगावै उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरे ।

कार्यक्रममा पूर्वसांसद् शिवधारी यादवले शहीदहरुको सपना पूर्णरुपमा साकार हुन नसकेको भन्दै अझै संघर्षको आवश्यकता रहेकोमा जोड दिए । ईन्सेक धनुषाका प्रतिनिधि बिनोद महराले संचालन गरेको सो कार्यक्रममा त्याहाँका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, वुद्धिजिवी लगायत सयकडौँको संख्यामा उपस्थिति थियो ।

कार्यक्रममा पत्रकारहरु डा. राजेश अहिराज, श्याम सुन्दर शशी, सुरेश कुमार यादव, राम एकवाल महरा, पुरण गुप्ता, कैलाश दास, प्रमोद साह रंगिलेको पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.