
हुलाकी न्यूज, काठमाडौं १६ माघ । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । राज्यले अस्थायी शिक्षकहरुलाई उपेक्षित र तिरस्कृत गर्दै आएको भन्दै आन्दोलनमा उत्रिनुपर्ने बाध्यता रहेको शिक्षकहरु बताउँछन् ।
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले शनिबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी चार सूत्रीय माग सार्वजनिक गरेको छ । अस्थायी शिक्षकहरुले नेपालको न्यायालयबाट न्याय नपाए अन्तर्राष्ट्रिय अदालतमा समेत जाने चेतावनी दिएका छन् ।
राज्यले कहिल्यै पनि अस्थायी शिक्षकहरुलाई न्यायोचित अधिकार दिन नचाहेको आरोपसमेत लगाएका छन् । कार्यक्रममा उनीहरुले आन्दोलनबिना कुनै पनि हक अधिकार प्राप्त नहुने भएको बाध्य भएर आन्दोलनकै बाटो रोजेको बताएका छन् ।
सम्पूर्ण अस्थायी शिक्षकहरुलाई प्रक्रिया पु¥याई स्थायी गरिनुपर्ने, शतप्रतिशत अस्थायी सेवा अवधिमा गणना गरिनुपर्ने, अवकाश प्राप्त अस्थायी शिक्षकहरुलाई स्थायी शिक्षकसरहको औषधी उपचार र उपादान उपलब्ध गराउनुपर्ने र स्वेच्छिक अवकाश लिन चाहने अस्थायी शिक्षकहरुलाई स्थायी शिक्षकसरह सेवा सुविधा प्रदान गरिनुपर्ने मागहरु पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।
सोमबार नेकपा एमाले केन्द्रीय कार्यालयमा एकदिने धर्ना तथा ध्यानाकर्षणपत्र बुझाउने, मंगलबार नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालयमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाउने र बुधबारदेखि नेपाल शिक्षक महासंघको केन्द्रीय कार्यालयमा अनिश्चितकालीन रिले अनसन गर्ने कार्यक्रम रहेको छ ।



