
रबिन्द्र प्रताप गुप्ता, भैरहवा ३ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेले राष्ट्रघात शब्दलाई तल्लो स्तरमा प्रयोग गर्दै नेपाली राष्ट्रियता र एकतासँग खेलवाड गरिरहेको आरोप लगाएका छन् ।
सबै दललाई सहमतिमा ल्याई सविधान कार्यान्वयन गराउने उद्देश्यले नेपाली कांग्रेस सहितको सहमतिमा सरकारले सविधान संशोधन प्रस्ताव ल्याएको र यसलाई एमालेले गलत रुपमा प्रचार गरेको उनले प्रस्टाए ।
नेपाली कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मधेशवादी दलहरुको मागलाई सम्बोधन गरी लोकतान्त्रिक सविधानको कार्यान्वयन गर्ने उद्देश्यले आएको संशोधन प्रस्तावलाई भारतीय आखाँले हेर्नु एमालेको सत्ता छाड्नु पर्दाको चिडचिडाहट भएको टिप्पणी गरे ।
‘हाल पाँच नम्बर प्रदेशका बारेमा आएको संशोधनका विषयमा स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सात प्रदेशको खाकामा हस्ताक्षर गरेका छन् ।’ नेता पाण्डेले भने –आफुले गर्दा सबै राम्रो र त्यही प्रस्ताव अरुले ल्याउँदा राष्ट्रघाती भयो भन्नु आफैमा जायज छैन ।’
मधेशवादी दलहरुको मागलाई सम्बोधन गर्ने गरी आएको सविधान संशोधन प्रस्तावको विरोध गर्दै एमाले अध्यक्षले दिइरहेको अभिव्यक्तिले विखण्डनकारीहरुलाई सहयोग पुगेको उनको तर्क छ ।
‘नेपाल भौगोलिक हिसावले हिमाल–पहाड र तराई मिलेर बनेको छ । भौगोलिक हिसावमा असमानता भए पनि नेपालीहरु बिच भावनात्मक एकता छ । तर एमालेले नेपाली–नेपालीहरुको भावनात्मक एकतालाई टुटाएर बिखण्डनकारीलाईहरुलाई सहयोग पुर्याउँदैछ,’ उनले भने ।
एमालेले मधेश र मधेशमा बस्ने मधेशी मूलका बासिन्दाहरुमा हेर्ने दृष्टीकोणमा परिवर्तन नगर्दासम्म समस्याको समाधान नहुने भन्दै उनले मधेशमा बसेर राष्ट्रियताको हितमा काम गरीरहेका र सम्मानपूर्वक नेपाली भएर बाँच्न चाहेका र बाँचिरहेका नेपालीहरुलाई भारतीय नजरले हेरेर अपमान नगर्न उनले सुझाए ।
सविधान संशोधन पछि मुलुकले निकास पाउने र सविधान कार्यान्वयनको दिशामा मुलुक अगाडि बढ्ने भन्दै उनले प्रस्तावलाई समर्थन गर्न एमालेलेलाई आग्रह समेत गरे ।
नेपाली काग्रेस रुपन्देहीका सभापति एवं सासंद अब्दुल रज्जाकको सभापतित्व तथा सचिव रामकृष्ण खाँणको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



