वृजराज कुशवाहा, नवलपरासी ४ आश्विन । संघीय गठबन्धन नेपालले देशव्यापीरुपमा संविधान जलाउन घोषणा गरेअनुसार आज नवलपरासीमा संयुक्त लोकतान्त्रिक थरुहट मधेशी मोर्चाका कार्यकर्ताहरुले निकालेको विशाल जुलुसको बिच नेपालको संविधान २०७२ जलाइएको छ ।

नेपालको संविधान २०७२ जारी गरिने मिति तय गरिनासाथ विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र नेकपा माओवादी बैद्य नेतृत्वको ३३ दलीय मोर्चा सम्मिलित संघीय गठबन्धन नेपालले आज असोज ४ गते देशैभरी संविधान जलाउने कार्यक्रम तय गरेको थियो । तय गरिएको विरोध कार्यक्रम अनुरुप नवलपरासीको परासी र डण्डामा मधेशी मोर्चा, विप्लव, बैद्य, थारु कल्याणकारीणी सभा र थरुहट थारुवान संघर्ष समितिका कार्यकताहरुले संयुक्त रुपमा संविधान जलाएका हुन् ।

मोर्चाले नवलपरासीको परासी स्थित बालगोबिन्द पेट्रोल पम्प चोकमा तथा कावासोती नगरपालिका १६ स्थित थारु कल्याणकारीणी संग्रहालय अगाडि विरोध जुलुस निकाली संविधान जलाएका हुन् । परासीमा निकालिएको विरोध जुलुसमा गाउंगाउंबाट आएका कार्यकताहरु सहभागी भएका थिए । महिलाहरुको समेत उलेख्य उपस्थिती रहेको थियो ।

डण्डामा कोल्हुवा, नारायणी, प्रसौनी लगायतका गाउंबाट आएका थरुहट थारुवानका कार्यकर्ताहरुले हातहातमा कालो झण्डा लिएका थिए भने संविधान विरोधी नारा लगाईरहेका थिए । पुर्वपश्चिम लोकमार्गमा संविधानका प्रति जलाएका थिए ।

असोज ३ गते आईतवार संविधान घोषणा भएको दिनलाई कालो दिन मनाएको मोर्चाले बेलुका आह्वान गरेको एक घण्टा ब्लैक आउटको कार्यक्रममा सदरमुकाम परासीमा सरकारी कार्यालय बाहेक अन्य कसैले पनि दिपावली गरेनन् ।

जिल्ला प्रशासान कार्यालय, जिल्ला प्रहरीका कार्यालय, नेपाली सेना, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयले मात्र दिपावली गरे । परासीमा दिपावली गरे मोर्चाको विरोध गरेको ठहर्ने मोर्चाको चेतावनीपछि मनमा खुशियाली भएकाहरु समेत परासीमा दिपावली मनाउन सकेनन् ।

मोर्चाका कार्यकताहरु बेलुका अबेरसम्म गस्ती गर्दै दिपावली गरे नगरेको खोजीमा लागेका थिए । मोटरसाइकलमा गस्ती गरेका मोर्चाका कार्यकर्ताहरुले गाउंमा समेत ब्लैकआउट गरी संविधानको विारेध गरिएको जनाए । पाल्हीको बैरवां गाउंमा स्थानीयले ३ दलका वरिष्ठ नेताहरुको शवयात्रा गराएका थिए । ब्लैक आउट गरिएपछि परासी बजार सांझै सुनासान बनेको थियो ।

साउन २५ गतेका दिन अखण्ड नवलपरासीको माग गर्दै गरिएको परासी बन्द आज ४३ औं दिन पनि जारी छ । बन्दका कारण विद्यालय, बजार, पसल, यातायात पुर्ण रुपमा ठप्प हुंदा जनजीवन प्रभावित बनेको छ ।

असोज ३ गतेलाई कालो दिनको रुपमा मनाएका मधेशी मोर्चाले आज संविधान जलाउनका लागि गाउगाउंबाट कार्यकता उतारेको थियो । परासीमा विरोध जुलुस र संविधान जलाएपछि शान्तिचौरमा संचालित कोणसभामा मोर्चाका नेताहरुले यो लडाई अब वारपारको भएको बताए ।

जबसम्म हाम्रो माग पुरा हुदैन, तबसम्म आन्दोलन जारी रहने बताएका थिए । मोर्चाका संयोजक मुकुरजी गिरीको संयोजकत्वमा संचालित विरोध सभामा पुर्व राज्यमन्त्रीद्धय गाविन्द चौधरी र रामबचन यादव, सदभावना पार्टीका केन्द्रिय सदस्य सत्राजित यादव, लगायतकाले आएको संविधान ममधेश विरोधी भएकाले कुनै पनि हालतमा स्विकार्य नहुने चेतावनी दिए ।

 

Nawalparasi- Protest 5 Nawalparasi-protest 2 Nawalparasi-Protest 3 Nawalparasi-Protest 4

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.