हुलाकी न्यूज, धनुषा २८ पुस । नेकपा क्रान्तिकारी माओवादी धनुषाले संगठन विस्तार तथा दुई जनालाई कारवाही पनि गरेको छ ।
सेक्रेटरी खेमराज यादवको अध्यक्षतामा बसेको वैठकबाट क्रान्तिकारी माओवादीले विभिन्न निर्णय गरेको हो ।
राज्य ईन्चार्ज कृष्णदेव सिंह दनुवारको प्रमुख आतिथ्य तथा केन्द्रिय सल्लाहकार शीतल कर्ण, महोत्तरी ईन्चार्ज वीरेन्द्र यादव र धनुषा जिल्ला ईन्चार्ज रोशन जनकपुरीको विशेष उपस्थितीमा बसेको वैठकबाट जिल्ला संगठन समितिको सदस्यबाट अम्बिका यादव र भुल्ला रायलाई पार्टीबाट निष्कासित गरेको छ भने केहिलाई थप पनि गरेको छ ।
पार्टी आचरण विपरित कार्य गरेको भन्दै निष्कासित गरेको केन्द्रिय सदस्य एवं धनुषा ईन्चार्ज रोशन जनकपुरीले बताए ।
जिल्ला संगठन समिति विस्तार गरी थप हुनेहरुमा रामकुमार सुन्दास, भिम विक, नागेश्वर चौधरी, गोविन्द मुखिया, प्रेम बहादुर पुलामी मगर, मदिक राई, जाहिर खातुन, रामनारायण साह, भिमकुमारी परियार लगायतका रहेका छन् ।
यस अघि क्रान्तिकारी माओवादीको जिल्ला कमिटी १८ सदस्यीय समिति थियो भने हाल आएर ३० सदस्यीय समितिमा विस्तार गरेको छ ।
त्यस्तै यस वैठकबाट संगठन सुदृढिकरण तथा जनपरिचालन अभियान अन्तर्गत देशभक्त जनगणतान्त्रिक मोर्चाको सदस्यता अभियानलाई प्रभावकारी रुपमा चलाउने निर्णय समेत गरेको छ ।
त्यसैगरी यस वैठकबाट स्थानीयस्तरमा भईरहेको विकास निर्माणको कार्यमा व्यापकरुपमा अनियमितता तथा कमसल कार्य भईरहेको भन्दै यस कार्यको क्रान्तिकारी माओवादीले कडारुपमा विरोध गरेको छ ।
एडीबी परियोजना लगायतका विकास निर्माणमा खुलेआम भ्रष्टाचारी भईरहदाँ पनि स्थानीय प्रशासनले भ्र्रष्टाचारको पक्षपोषण गरेकोले सोको कडारुपमा विरोध गर्ने निर्णय यस वैठकले गरेको नेता रोशन जनकपुरीले जानकारी दिए ।



