
हुलाकी न्यूज, वीरगंज २६ पुस । सद्भावना पार्टी निकट प्रेस मंच नेपालको प्रथम केन्द्रीय महाधिवेशन मंगलबारदेखि वीरगंजमा सुरु भएको छ ।
मंचका केन्द्रीय अध्यक्ष संतोष पटेलको सभापतित्वमा सुरु भएको उद्घाटन समारोहलाई कार्यक्रमका प्रमुख अतिथि एवं सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महतोले हिमाल, पहाड र तराईमा शोषण र विभेदमा परेका जनताहरुको आवाजहरुलाई उठाउन पत्रकारहरुलाई आग्रह गरेका थिए । महतोले मधेश र मधेशी जनताहरुको समस्या र हक अधिकार सुनिश्चित गराउन सम्पूर्ण पत्रकारहरु एकजुट भई कलम चलाउनुपर्नेमा जोड दिएका थिए ।
उनले विशेषगरी विभेद र अत्याचारको बिरुद्ध कलम चलाउन आग्रह गरेका थिए । देश विकासमा पत्रकारहरुको भूमिका महत्वपूर्ण भएकोले स्वतन्त्र, निर्भिक र ईमान्दारीपूर्वक कलम चलाउन महतोले पत्रकारहरुलाई आग्रह गरेका थिए ।
महतोले प्रेच मंच नेपालको प्रथम महाधिवेशनलाई नेपाली पत्रकारिता जगतमा अविस्मरणीय र ऐतिहासिक बनाउन सबैलाई आग्रह गर्दै महाधिवेशन सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, अतिथिहरु, वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह, महासचिव मनिष सुमन, सहमहासचिव सुरेन्द्र कुर्मी, अजय गुप्ता, अर्जुन उप्रेती, केन्द्रीय सदस्य योगेन्द्र राय यादव, भुपेन्द्र महतो, निजामुदिन समानी, उद्योगपति अशोक बैद्य, नागरिक अगुवा डा. दिपक शाक्य, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, हिन्दु परिषदका केन्द्रिय अध्यक्ष पंडित पुरुषोत्तम दुवे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।



