
हुलाकी न्यूज, काठमाडौं २३ पुस । मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले समस्याको समाधान गर्नको लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।
गच्छदारले भने,‘समस्याको समाधान गर्नको लागि संविधान संशोधन गर्नेपर्छ भनेर हाम्रो पार्टीलेपनि पहिलेदेखि नै भनिरहेको छ, तर अहिले आएको संशोधन प्रस्तावले समस्याको हल गर्दैन, त्यसैले यसलाई परिमार्जन गरेर अघि बढ्नुपर्छ ।’
उनले दुई तिहाईले मात्रै संविधान संशोधन गर्दैमा समस्याको समाधान नहुने भन्दै मुख्य दलहरुकावीचमा न्यूनतम सहमति आवश्यक रहेको बताए ।
उनले भने,‘हिजो संविधान जारी गर्दा ९० प्रतिशतले जारी गरेको भनेको होईन, खोई त ? कार्यान्वयनमा जान सकेको ? अहिले दुई तिहाईको बहुमतले मात्रै जान खोजेर हुँदैन, सर्वसम्मतले गर्नुपर्छ भन्ने पनि छैन, अधिकतम सहमित गर्नुपर्छ, असहमत पार्टीहरुको कुरालाई अधिकतम सम्बोधन गरेर जानुपर्छ ।’
पूर्व उप्रधानमन्त्री समेत रहेका अध्यक्ष गच्छदारले आफ्नो पार्टीले सरकारमा जानको लागि भनेर नै प्रचण्ड नेतृत्वको सरकारलाई भोट नहालेको दाबी गर्दै भने, ‘हाम्रो पार्टीले त समस्या समाधानको लागि भोट हालेको हो, हामी सरकारमा जाने भए त्यतिवेला नै जान्थ्यौं, अहिले त पाँच महिना वितिसक्यो ।’
उनले संविधान कार्यान्वयनको लागि पनि निर्धा्रित मितिभित्रै तीन वटै निकायको चुनाव गर्नुपर्नेमा जोड दिँदै भने,‘स्थानीय, प्रान्त र संसदको चुनाव ०७४ माघ ७ गतेभित्र गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ ।’
यद्धपी उनले चुनाव गराउन र राजनीतिक उपलब्धिहरुलाई संस्थागत गर्नको लागि राजनीतिक सहमति आवश्यक रहेको बताए। उनले भने,‘दलहरुवीच सहमति मै संविधान जारी भएको हो, अब कार्यान्वयनमा पनि दलहरुवीच सहमति आवश्यक छ ।’



