Rajendra_mahato
हुलाकी न्यूज, काठमाडौं २३ पुस । स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन मधेशीलाई दास बनाउनका लागि ल्याइएको मधेशी मोर्चाका नेता एवं सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन् ।

मधेशमा आधा जनसंख्या रहेपनि थोरै स्थानीय निकाय बनाइएको बताउँदै महतोले प्रतिवेदन अस्वीकार गर्ने जनाएका छन् । ‘मधेशीको मत दिन पाउने अधिकारलाई कटैती गरी मधेशीलाई दास बनाउन खोजिएको छ ।’ हुलाकी न्यूजसँग महतोले भने,‘मधेशमा गाउँपालिका, नगरपालिका थोरै बनाइएको छ । गाउँपालिका नगरपालिकालाई बजेट विनियोजन गरिए मधेशलाई थोरै बजेट पर्नेछ ।’

स्थानीय तह निर्धारण आयोगले एमालेको निर्देशन अनुसार काम गरेको बताउँदै महतोले कुनै एक पार्टीको हितमा प्रतिवेदन बनाउनु राष्ट्रघाती भएको बताए ।

अहिलेको प्रतिवेदनले मधेशसँग न्याय गर्न नसकेको बताउँदै महतोले मधेशको प्रतिनिधित्व घटाउने प्रयास भएको बताए । ‘यो प्रतिवेदनले मधेशीलाई अवसरबाट बञ्चित गर्नेछ । गाउँपालिका सदस्यहरुको मताधिकार कटौती गरिएको छ ।’ महतोले भने,‘यो प्रतिवेदनका आधारमा मधेशमा कुनै निर्वाचन हुन दिन्नौं ।’

सरकारले यो प्रतिवनेद स्वीकार गरेपनि मधेशी जनताले अस्वीकार गर्ने बताउँदै महतोले मधेशी जनताले प्रतिवेदन जलाउने चेतावनीसमेत दिए । बालानन्द पौडेलको अध्यक्षतामा गठन भएको स्थानीय तह निर्धारण आयोगले मधेशको राजनीतिक दलको विरोधका बाबजुद प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको छ ।

उक्त आयोगले मधेशमा गरेको सम्पूर्ण कार्यक्रम मधेशीहरुले विथोलेका थिए । मधेशका जिल्लाबाट प्राविधिक समितिले पठाएको रिपोर्टका आधारमा आयोगले केन्द्रबाटै मधेशको स्थानीय तहको निर्धारण गरेको छ ।

आयोगमा मधेशीको प्रतिनिधित्व गरी सदस्य भएका अधिवक्ता सुनिल रंजन सिंहले मधेश प्रदेशको संयोजकबाट राजिनामा पनि दिएका थिए भने मधेशको हितविपरीत प्रतिवेदन आएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.