
हुलाकी न्यूज, काठमाडौं २३ पुस । संयुक्त विद्यार्थी संगठनले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तीनबुँदे ज्ञापनपत्रसहित आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विभिन्न पार्टी सम्बद्ध ९ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा शनिबार ज्ञापनपत्र बुझाएका हुन् ।
लौकही–२, सुनसरीको रानी मावि विद्यालयमा कक्षा ७ मा अध्ययनरत् १४ वर्षीया बालिका राधा यादवलाई गत मंसिर २१ गते सामूहिक बलात्कार पछि हत्या भएको एक महिना बितिसक्दा पनि अपराधी पक्राउ पर्न नसकेको भन्दै संयुक्त विद्यार्थी संगठन ज्ञापनपत्र बुझाएको हो ।
सो घटनाको उचित सत्यतथ्य अनुसन्धान गरी पीडितलाई न्यायको अनुभूति र पूर्णरुपले क्षतिपूर्ति दिलाउनका साथै यस्ता जघन्य अपराध गर्नेलाई कानूनको दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको माग गर्दै आन्दोलनको चेतावनीसमेत दिएको छ ।



