
हुलाकी न्यूज, काठमाडौं २३ पुस । स्थानीय तह पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले असन्तुष्टि जनाएको छ ।
तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी सो असन्तुष्टि जनाएका हुन् ।
‘संघीय राज्य पुनःसंरचनामा संघ, प्रदेश, स्थानीय निकाय र विशेष÷संरक्षित वा स्वायत्त क्षेत्रहरुको समन्वयको मान्य सिद्धान्त अनुसार स्थानीय निकाय तथा विशेष÷संरक्षित वा स्वायत्त क्षेत्रहरु प्रदेशको क्षेत्राधिकार पर्ने कुरा सर्वविदितै छ । यस मूल सिद्धान्तको विपरित, जनसंख्याको मूल आधारलाई समेत वेवास्ता गर्दै स्थानीय निकायको कुनै पनि संरचना हामीलाई स्वीकार्य न हुने कुरा हामी सदैव स्पष्ट पार्दै आएका छौं ।’ विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय निकायको संरचनावारे हाल बुझाइएको प्रतिवेदन संघीय राज्य पुनःसंरचनाको मूल अवधारणा र स्वयं नेपालको संविधानको धारा ५६ को (४) र (५) र धारा २९५ को (३) विपरित भएकोले यस्तो संरचनाको खाका मधेशलाई मान्य नभएको तमलोपाले प्रष्ट्याएको छ ।



