
हुलाकी न्यूज, जनकपुरधाम २१ पुस । मधेशका अतिविपन्न मुसहर जातिको कुल देवता स्थानलाई नै जनकपुरधामका भुमाफियाहरुले कब्जा गरेका छन् । जनकपुर उपमहानगरपालिका ६ मा रहेको मुसहर जातीको दिनाभद्री थानलाई विगत २५ वर्षदेखि स्थानीय भुमाफियाहरुले कब्जा गरी बसेका छन् ।
राजनीतिक पहुँच र गुठीलाई प्रलोभनमा पारी दिनाभद्री थानलाई दिलिप साह हलुवाईले विगत २५ वर्षदेखि कब्जा गरी बसेका छन् । उनले दिनाभद्री थानमा पक्की घर बनाइसकेका छन् । उक्त थान खाली गर्न मुसहरहरुले बारम्बार आग्रह गर्दा साहले बल प्रयोग गरी जग्गा छोड्न नमानेको मुसहर समुदायका अगुवा रामदयाल सादाले हुलाकी न्यूजलाई बताए ।
८ दशमलब एक धुर क्षेत्रफल रहेको उक्त थान खाली गराउन राष्ट्रिय मुसहर उत्थान समाजले जिल्ला प्रशासन कार्यालय धनुषालाई बारम्बार आग्रह गर्दासमेत प्रशासनले कुनै चासो नदिएको सादा बताउँछन् ।
आदिकालीदेखि नै जनकपुरधाममा मधेशका विभिन्न जातजातिको मठमन्दिर तथा कुटीहरु छन् । त्यसमध्ये अधिकांश जातिको कुटीहरु भुमाफियाहरुले बेचेका छन् भने कतिपयलाई कब्जा गरी बसेका छन् । गुठीसँगको मिलिमतोमा कतिपय स्थानमा महन्थहरुले कुटी र मठको जग्गा विक्री गरेका छन् ।
दिनाभद्री थान खाली गराउनका लागि मुसहर जातीले जनकपुरधाममा प्रदर्शन गर्ने तयारी गरेको छ ।




