अजित कर्ण, रौतहट ४ असोज । संविधान जारी भएको भोली पल्ट असोज ४ गते रौतहटको विभिन्न ठाउँमा स्थानीयहरुले नयाँ संविधान २०७२ जलाएका छन् । आक्रोशित युवाहरुको समूहले सोमबार बिहान सदरमुकाम गौरस्थित जिल्ला अदालतनजिक संविधान जलाएर विरोध जनाएका छन् ।
जिल्ला सदरमुकाम गौरस्थित पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको घर अगाडि पनि स्थानीयवासीले संविधानको प्रतिलिपि जलाएका छन् । नेपालको घर अगाडि संविधान जलाएका केही महिलालाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो ।
अबेर राति रौतहटको भेडियाही, गरुडा र सदरमुकाम गौरको ठाँउठाँउमा रौतहट प्रहरीले मचाएको ताण्डवको विरोधमा आक्रोशित हुँदै स्थानीयहरुको समूहले संविधान जलाएका हुन् ।
उनीहरुले थारु– मधेशीले पाएको अधिकारलाई पनि खोस्ने प्रतिगमनकारी संविधान मधेश थरुहटलाई मान्य नहुने चेतावनी दिए । सोमबार दिनभरी रौतहटमा संविधानको प्रतिलिपी दहन हुने बताउँदै राज्यले मचाएको आतंकको बिचमा घोषणा गरिएको संविधान आफुहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताए ।
प्रहरीको दमनकारी शैली देखेर स्थानीय युवाले आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन् । उनीहरुले अधिकार प्राप्त नभएसम्म लडाईं जारी रहने बताए ।
त्यस्तै चौतर्फी विरोधका बावजुद जारी भएको संविधान जलाउँदै आन्दोलनरत मोर्चाका जिल्ला संयोजक बाबुलाल साहले यो संविधान मधेशी र थारुको नभई २ सय ५० बर्ष देखि शासन गर्ने कोइराला, ओली र दाहालहरुको संविधान रहेको बताए ।



