
हुलाकी न्यूज, काठमाडौं १५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुस १८ गते मधेशका जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । संविधान संशोधन प्रस्ताव परिमार्जन गरी पारीत गराउन दबाब स्वरुप मोर्चाले जिल्ला सदरमुकामहरुमा प्रदर्शनसहित सभा गर्ने निर्णय गरेको छ ।
मधेशी मोर्चाले जारी गरेको विज्ञप्ति अनुसार पुस १८ गते सोमबार दिउँसो एक बजे प्रत्येक जिल्ला सदरमुकाममा ‘खबरदारी विरोध प्रदर्शन’ गर्ने निर्णय गरेको हो ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको मधेशी मोर्चाको विहीबार र शुक्रबार चलेको बैठकबाट पाँच बुँदे निर्णय गरिएको छ । १८ गते संसद बैठकमा संविधान संशोधन विधेयक पेस हुने सम्भावना बढेपछि सोही दिन दबाब स्वरुप मोर्चाले प्रदर्शनको तयारी गरेको हो ।
मोर्चाको बैठकले संविधान संशोधन नभएसम्म कुनै पनि निर्वाचन हुन नदिने निर्णयसमेत गरेको छ । यथास्थितिमा देशमा निर्वाचन भए मुठभेट हुने मोर्चाले चेतावनी दिएको छ ।
जनसंख्याको आधारमा स्थानीय तह निर्धारण नभएको भन्दै स्थानीय तह निर्धारण आयोगको प्रतिवेदन अस्वीकार गर्ने निर्णय मोर्चाले गरेको छ । संविधानको धारा ५६ को(४) र (५) तथा धारा २९५को (३) को विपरीत आयोगको प्रतिवेदन आएकोले मोर्चाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
संशोधनको विरोध गर्दै आएका प्रतिपक्षि दल एमालेको आन्दोलनलाई मोर्चाले भत्र्सनासमेत गरेको छ ।
सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक परिमार्जन गरी पेस गर्न मोर्चाले माग गर्दै आएपनि तत्काल अहिलेकै विधेयकलाई स्वीकार गर्ने पक्षमा मोर्चाका अधिकांश नेताहरु छन् । अधिकांश नेताहरु मध्यमार्गी बाटो अपनाएर जाने पक्षमा देखिएका छन् । अहिलेको विधेयकलाई पास गरी थपका लागि आन्दोलन गर्न तयार रहनु पर्ने नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले बताए ।
फाईल फोटो



