
हुलाकी न्यूज, काठमाडौं १३ पुस । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अहिले संसदमा प्रमुख तीन दलले एउटा नाटक मञ्चन फेरि सुरु गरेको आरोप लगाएका छन् ।
तमलोपाको ९औं वार्षिकोत्सवको अवसरमा बुधबार बिजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा आयोजित संकल्प कार्यक्रममा अध्यक्ष ठाकुरले तीनै दल मिलेर एउटा नाटक मञ्चन गरी मधेश विरोधी संविधान जारी गरेको बताए ।
उनले भने, ‘अर्को नाटक मञ्चन गरी हामी अनुपस्थित हुँदा पनि त्यसलाई मतदान गरी ९५ प्रतिशत पु¥याएर भन्छन् कि अहिले जुन संशोधन ल्याइएको छ त्यो असफल भयो भनेर षड्यन्त्र भइरहेको छ ।’
उनले विभेदबाट मुक्तिका लागि तमलोपाले आफ्नो वार्षिकोत्सवको दिन संकल्प लिएको बताए । मधेशका जनता एवं देशका अन्य उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि तन, मन र धनले समर्पित भई अनवरत संघर्ष गर्ने संकल्प लिएको उनले बताए ।



