
हुलाकी न्यूज, गौर ७ पुस । रौतहटको गौरमा आयोजित एक कार्यक्रममा सहभागी मधेशी युवाहरुले नेपाल सरकारसँग ‘मधेशको विकासमा विभेद किन गरेको’ भन्दै प्रश्न गरेका छन् ।
मधेशको पूर्वाधार विकासलगायतका विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी अधिकांश युवाहरुले नेपाल सरकारले मधेशको विकासमा विभेद गर्दै आएको बताउँदै विकासमा समानताका लागि आग्रह गरे । उनीहरुले विभेद जारी रहे बिखण्डन निम्तिन सक्ने संकेत पनि गरे ।
पूर्वपश्चिम रेलमार्गका विषयमा कार्यक्रममा विशेष छलफल भएको छ । रेलमार्गका विषयमा स्थानीय स्तरबाट छलफल हुनु पर्ने उनीहरुले बताएका छन् ।
रौतहटमा आउने विकास बजेट र त्यसमा हुने अनियमितता बारे चर्चा गर्दै राजनीतिक दलको भागबण्डाका आधारमा बजेट सकिने गरेको बताए । यसअघि मधेशको पूर्वाधार विकासका विषयमा जनकपुरधाम, बीरगञ्ञ्जमा छलफल भइसकेको छ ।
दिल्लीमा रहेका मधेशीहरुको छाता संगठन युनाईटेड मधेशीका अध्यक्ष संजय यादवसहित दिल्ली युनिर्भसिटीमा अध्ययनरत सूर्यकिरण यादवलगायतका युवाहरुको विशेष सहभागितामा उक्त छलफल भएको छ । छलफलमा श्यामविहारी यादव, संजिव गुप्ता, ओमप्रकाश साह, अरविन्द यादव र सञ्चारकर्मी अभिमन्यू पटेललगायतको सहभागिता रहेको थियो ।




