
हुलाकी न्यूज, काठमाडौं ४ पुस । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले एमालेको भूमिकाले कतै राष्ट्रलाई डुबाउन खोजेको त हैन भन्ने आशंका गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको एक कार्यक्रममा मन्त्री नायकले भने, ‘एमाले राष्ट्रिय पार्टी त हो, तर उसको भूमिका हेर्दा अहिले कता कता शंका लागेर आउँछ, कि एमाले साँच्चिकै राष्ट्रिय पार्टी हो त ? भनेर, एमालेको भूमिकाले कतै राष्ट्रलाई डुबाउन त खोजेको छैन भनेर मलाई आंशका लागेको छ ।’
उनले संविधान संशोधन प्रस्ताव संसदको कार्यसूचिमै नहुँदापनि एमालेले संसद अवरुद्ध गरेर गलत काम गरिरहेको आरोप लगाए । उनले भने,‘संसदको कार्यसूचिमा संशोधन प्रस्ताव नै छैन, तैपनि एमालेले संसद अवरुद्ध गरिरहेको छ, संसदको कार्यसूचिमा त निर्वाचन छ, निर्वाचन त सबैको आवश्यकत्ता हो ।’ उनले निर्वाचन सम्बन्धी विद्येयकको कार्यसूचिलाई किन प्रवेश गर्न दिईएन भनेर प्रश्न समेत तेर्साए ।
मन्त्री नायकले निर्वाचनको वातावरण बनाउनेतर्फ सबैले सोच्नुपर्नेमा जोड दिए । उनले अघि थपे, ‘मधेश, थारु र जनजातिहरुलाई पेलेर निर्वाचन हुन्छ त ? पेलेरै जाने हो त ? त्यसो गर्दा समस्याको निकास कसरी निस्किन्छ ?’
उनले एमालेले राष्ट्रिय भूमिकाबाट पन्छिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोष थुपार्ने काम गरिरहेको गुनासो पोख्दै मन्त्री नायकले भने,‘एमालेले पनि राष्ट्रिय भूमिका निर्वाह गर्नुपर्छ, पन्छिएर समस्याको समाधान हुँदैन नि ?’ उनले मुलुकको निकासको लागि एमालेले पनि पहलकदमी लिनुपर्ने धारणा राखे ।



