हुलाकी न्यूज, जनकपुर ३ पुस । विगत लामो समयदेखि धनुषालाई केन्द्र बनाई विभिन्न संचारमाध्यममा निरन्तर रुपमा पत्रकारिता गर्दै आएका क्रियाशील तथा सक्रिय संचारकर्मीहरुलाई नेपाल पत्रकार महासंघको सदस्यताबाट वञ्चित गरेको भन्दै आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाले त्रियाशिल पत्रकारहरुलाई सदस्यताबाट बञ्चित गरेपछि संचारकर्मी सुदिप कुमार शर्माको संयोजकत्वमा नयाँ सदस्यता दबाब संघर्ष समिति गठन गरी आन्दोलित भएका हुन् ।
उक्त समितिको सदस्यहरुमा अनुज मिश्र, अनिल महतो, राजेश पासवान, ब्रहमानन्द ठाकुर, नविन साह, संजय साह र सदस्य सचिवमा सुदर्शन सिंह रहेका छन् ।
समितिको बैठकबाट सोमबार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमिति र नेपाल पत्रकार महासंघ धनुषा शाखालाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको संयोजक शर्माले जानकारी दिएको छ ।
ज्ञापन पत्र बुझाउँदा समेत माग पुरा नभए ७ गतेदेखि चरणबद्ध आन्दोलमा उत्रिने निर्णय गरेको छ । ७ गते कालो पट्टी बाँधेर विरोध गर्ने र ८ गते बैठक बसी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गर्ने सदस्य सचिव सुदर्शन सिंहले जानकारी दिए ।
मंसिर ३० गते सम्पन्न धनुषा शाखाको बैठकबाट सदस्यताको लागि सम्पुर्ण प्रक्रिया पुरा रहदा पनि सदस्यताबाट बञ्चित गर्दा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष ईश्वर चन्द्र झा, सदस्य राजकमल सिंह, राम एकवाल महरा र बिनोद महतोले निर्णय प्रति असहमति जनाएका थिए ।



