
हुलाकी न्यूज, जनकपुरधाम ३ पुस । जनकपुरधामका जागरुक युवाहरुले मधेशको पूर्वाधार विकास निर्माणका विषयमा अन्तरक्रिया गरेका छन् । निर्माण हुन गइरहेको पूर्व–पश्चिम रेल मार्गका विषयमा युवाहरुले विशेष चासो राखेका छन् ।
सर्वेक्षण सम्पन्न भइसकेको रेल मार्ग मानव वस्तीभन्दा पनि जंगलबाट गइरहेकोप्रति ध्यानाकर्षण गर्दै युवाहरुले पूर्वपश्चिम रेलमार्ग मधेशको बस्ती भएर जानु पर्ने धारणा राखेका थिए ।
मधेशका सहरहरुलाई जोडेर गएको खण्डमा बजारको विस्तार तथा मानव आवागमनमा सहज हुने उनीहरुको भनाई थियो । जंगल फडानी गर्दै मानव बस्ती नभएको ठाउँबाट रेल मार्ग गए त्यसको प्रतिकार गर्ने प्रतिवद्धता पनि सहभागी युवाहरुले जनाए ।
त्यस्तै, हुलाकी राजमार्गको धनुषा र महोत्तरी क्षेत्रमा भइरहेको गुणस्तरहिन कामप्रति युवाहरुले चासो राखेका थिए । राजनीतिक दबाबका कारण धनुषामा हुलाकी राजमार्ग निर्माणमा अयोग्य व्यक्ति खटाइएकोप्रति युवाहरुको ध्यानाकषर्ण भएको थियो ।
राज्यले मधेशको विकास निर्माणलाई नजरअन्दाज गरेकोले राजनीतिक आन्दोलनसँगै विकास निर्माणका लागि पनि अभियान संचालन गर्नु पर्ने युवाहरुले बताएका थिए । समाजिक सञ्जालमार्फत गरिएको आह्वानबाट करिब ४६ जनाभन्दा बढी जागरुक युवाहरु छलफलमा सहभागी भएका थिए ।
छलफलमा विशेष गरी भारतमा अध्ययन तथा रोजगारीमा सक्रिय मधेशीहरुको संगठन युनाईटेड मधेशी तथा काठमाडौंमा अध्ययन गरिरहेका युवा तथा विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।
संविधान संशोधनका विषयमा कुरा उठाउँदै युवा–विद्यार्थीहरुले संविधान संशोधनका विषयमा पनि आन्दोलन जारी राख्ने र थप आन्दोलनहरु अगाडि बढाउँदै जाने निष्कर्ष निकालेका थिए । त्यस्तै, विभिन्न राजनीतिक दलसँग आवद्ध युवाहरुले आ–आप्mनो संगठनमार्फत पनि मधेशको विकास निर्माणका विषयलाई पनि उठाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा युनाईटेड मधेशी दिल्लीका अध्यक्ष संजय यादव, दिल्ली युनिर्भसिटीका सूर्य किरण यादव, हुलाकी न्यूजका सम्पादक बीपी साह, अनेरास्वबीयु(क्रान्तिकारी)का उपाध्यक्ष रबी किरण यादव, समाजिक अभियान कर्ता रियाज साफी, प्रेस मञ्चका सह–संयोजक विन्दकिशोर साह, संयुक्त युवा संघर्ष समितिका संयोजक धर्मेन्द्र साह, नयाँ शक्तिका नगर संयोजक राकेश विक्रम साहलगायतकाको उपस्थिति रहेको थियो ।
जनकपुरधामस्थित भ्रमरपुरा चौकमा रहेको अप्पन टिभीको सभा हलमा कार्यक्रम आयोजना गरिएको थियो ।



