
हुलाकी न्यूज, काठमाडौं ३ पुस । मधेश–थरुहट आन्दोलनमा भएको क्षति तथा घटना बारे छानविन आयोगले उजुरी लिन थालेको छ । आन्दोलनताका भएको जनधनको क्षति तथा अन्य घटनाका बारे सर्वसाधारण तथा विभिन्न संघ–संस्थाले पनि सूचना दिनुका साथै उजुरी पनि दर्ता गराउन सक्नेछन् ।
नेपाल सरकारले गठन गरेको ‘तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोडलगायतका घटनाहरुको सत्यतथ्य छानविन सम्बन्धी उच्चस्तरीय छानवीन आयोग, २०७३’ उजुरी लिन सुरु गरेको छ । काठमाडौं १० स्थित बिजुली बजारमा रहेको सचिवालयमार्फत उजुरी लिन थालेको छ । साथै अनलाईनमार्फत पनि उजुरी लिने व्यवस्था गरेको छ ।
आयोगका अनुसार पीडित पक्षहरु, सरोकारवालाहरु एवं मानव अधिकारसंग सम्बन्धित संघ, संस्था एव दलहरुसमेतबाट सूचना, जानकारी एवं उजूरी संकलन गर्न मंसिर १६ गते विहिबारदेखि ३० दिनभित्र यस आयोगको सचिवालयमा उपस्थित भई वा आफ्नो प्रतिनिधि पठाई सूचना र जानकारी एवं उजूरी दर्ता गराउन सक्ने छ । सूचना प्रकाशित भैसकेकोमा यस्ता उजूरीहरु पीडितहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु र जिल्ला विकास समितिको कार्यालयहरुमा समेत दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
मानव अधिकारसंग सम्बन्धित संघ, सस्था वा सम्बन्धित राजनीतिक दलहरुले कुनै जानकारी र सूचना वा उजूरी दर्ता गराउन चाहेमा यस आयोगको कार्यालयमा मात्र उजूरी, निवेदन, जानकारी दर्ता गराउनु पर्नेछ ।
यसरी दर्ता तथा संकलन भएका सूचनाहरु सत्य तथ्य जाँचबुझ गरी क्षतिको विवरणसहितको प्रतिवेदन आयोगले सरकारलाई बुझाउनेछ । आयोगले सम्पूर्ण पीडित पक्षहरु, सरोकारवालाहरु, राजनीतिक दलहरु, मानव अधिकारकर्मी, नागरिक समाज तथा संघ, संस्था सबैलाई घटना तथा क्षतिको विवरण यस आयोगको सचिवालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिहरुमा दर्ता गराउन समेत सबैलाई अनुरोध गरेको छ ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिस चन्द्र लालको नेतृत्वमा उच्च स्तरीय छानविन आयोग गठन गरेको छ ।
उजुरीका लागि अनलाईन http://hlec.gov.np/



