
हुलाकी न्यूज, काठमाडौं २९ मंसिर । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनलाई थाँतीमा राखेर चुनाव गए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मधेशी मोर्चाका नेतासमेत रहेका यादवले संशोधन प्रस्तावलाई थाँती राखेर अघि बढे प्रस्ताव ल्याउने सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रलाई नै नैतिक प्रश्न र राजनैतिक प्रश्न उब्जिने बताए ।
यादवले प्रमुख तीन दलवीच संशोधन प्रस्तावलाई तत्काललाई थाँती राखेर स्थानीय निकायको निर्वाचन गर्नेबारे सहमति भएको कुराले मोर्चाको ध्यानाकार्षण भएको टिप्पणी गरे ।
यादवले भने,‘अहिले हामी मोर्चाका साथीहरु आन्तरिक छलफलमा जुटेका छौं, चुनाव रोक्नको लागि जे जे गर्नुपर्ने हो, त्यो सबै गरिन्छ ।’



