
हुलाकी न्यूज, जनकपुरधाम २८ मंसिर । विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राऊ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना समर्थकलाई विनाकारण पक्राऊ गरी हिरासतमा यातना दिएको भन्दै हङकङस्थित एशियन ह्युमन राइट्स कमिशनद्वारा धनुषाको सिडिओ दिलीप चापागाईं र एसपी लालमणी आचार्यको कार्यको घोर भर्त्सना गरेको छ ।
मंगलबार एशियन ह्युमन राइट्स कमिशनले विज्ञप्ति जारी गरी भर्त्सना गरेको हो ।
यता हिरासतमै प्रहरीले यातना दिएको विरोधमा गत बिहीवारदेखि नै अनशनमा बसेका संजय कुमार यादव र उपेन्द्र रोहिताको स्वास्थ्य स्थिति निकै नै गम्भीर भई सोमबार बेलुका सांझ ७ बजे उनीहरुलाई प्रहरीले जनकपुर अंचल अस्पतालको इमरजेन्सीमा भर्ती गरेका छन्। इमरजेन्सी कक्षमा उनीहरुको उपचार अझै जारी नै रहेको छ ।
उता पछिल्लो मिति राखेर र उल्टो झूठो बयान लेखेर यातना दिई आफूहरुलाई प्रहरी प्रशासनले जबरजस्ती हस्ताक्षर गर्न लगाएको भन्दै मंसीर २६ गते आइतबारदेखि मुबारक हुसैन, अभिमन्यु महतो र फुलचन मुखिया गरी थप ३ जना पनि प्रहरी हिरासतमै अनशनमा बसेका छन् ।
जनकपुर उच्च अदालतमा कैदीहरुको तर्फबाट बिहीबार नै परेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाई आइतबार नै सके पनि अदालतले फैसला नदिइकन मंसीर २९ गतेको लागि पेशी दिएको थियो, जसले गर्दा कैदीहरु जाडोमा यातनापूर्वक प्रहरी हिरासतमै विगत हप्तादेखि बस्न बाध्न भएका छन् ।
१७ जनालाई पक्राऊ गरेर हिरासतमा राखेकोमा कम्तीमा दुई जना नाबालकहरु समेत रहेका छन् । उनीहरुको जन्मदर्ता प्रमाणपत्र समेत प्रहरीमा पेश गरे तापनि उनीहरूलाई छोडेको छैन ।



