
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २७ मंसिर । मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मदको १४ सय ९ औं जन्मदिन सार्वजनिक विदाको माग गर्दै सोमबार धुमधामका साथ मनाइएको छ ।
जन्मोत्सवको अवसरमा रुपन्देहीको सदरमुकाम भैरहवामा सोमबार ¥याली सहित विभिन्न कार्यक्रमहरु गरियो ।
विभिन्न मस्जिद ,मदरसा मुस्लिम संघ संगठन, धार्मिक संघ संस्था तथा मुस्लिम अगुवाहरुकोे आयोजनामा सुरु भएको ¥याली नारायण पथ, बुद्ध चोक, देवकोटा चोक, बैक रोड , हुदै आ–आफ्नो परिसरमा सभा गरी सकिएको थियो ।
¥यालीमा सिद्धार्थनगर नगरपालिका भित्रको दोगहरा, गल्लामण्डी, पक्लिहवा, खजहना, खजुरिया, कठौतिया, बहडिलिया, उदयपुर, गोलिगढ, भैरहवा बजारलगायत चैनपुर, बसन्तपुर, बेनिपुरका हजारौँ मुस्लिम समुदायको विभिन्न रंगी बिरंगी प्लेकार्ड र झण्डा सहितको सहभागिता रहेको थियो ।
नेपाल सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने भनी लिखित सम्झौता गरेपनि हालसम्म विदा नदिएको जनाउँदै सरकारले सहमति सम्झौतालाई पालना नगरेको मुस्लिम अगुवाहरुले आरोप लगाए ।
सरकार र मुस्लिम गठबन्धन वीच चार वर्ष अघि २०६९ सालमा भएको १० बुँदे सम्झौताको बुँदा नम्बर ९ मा मोहम्मद जयन्तीमा सार्वजनिक विदा दिने भनि प्रष्ट रुपमा उल्लेख गरिएको छ, सम्झौता भएको ४ बर्ष वितिसक्दा पनि कार्यान्वयन नभएकोले मुस्लिम समुदाय आक्रोसित भएको मुस्लिम वेलफेयर सोसाइटीका सचिव अकिल अहमद खाँनले बताए ।
“सरकारले विदा घोषण नगर्दा आज यस्तो महत्वपूर्ण दिनमा पनि हाम्रो समुदायका कर्मचारी, विद्यार्थीहरु कार्यालय र विद्यालयमा हाजिर हुनुपर्ने बाध्यता छ” खाँनले भने ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बिउल औवल महिना को १२ तारिखका दिन बुबा अब्दुल्लाह र आमा आमिनाको कोखबाट साउदीको मक्का शहरमा भएको हँुदा यसदिन विश्व भरीका मुस्लिमहरुले भव्यताका साथ बिविध कार्यक्रम गरी मनाइने गरिन्छ ।
आजको यस जन्मदिनको खुसियालीमा मुस्लिम समुदायले जश्ने ईद मिलादुन नवि (रबिउलऔवल) को रुपमा मनाउने गर्दछन् । मोहम्मदको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ प्रवचन, जीवनी वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।



