
हुलाकी न्यूज, जनकपुरधाम २७ मंसिर । विवाह पञ्चमीपश्चात् सरसफाई गरिरहेका डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताहरुलाई गैरन्यायिक हिरासतको एक हप्ता बितिसक्यो ।
प्रहरीले स्वतन्त्र मधेश गठबन्धका १७ जना कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । त्यसपछि गठबन्धनका कार्यकर्ताहरुले जिल्ला अदालतमा मुद्दा दायर गराएका थिए ।
बन्दी प्रत्यक्षीकरणको मुद्दामा जनकपुर उच्च अदालतद्वारा आइतबार भएको दुइटै पक्षको बहस ३ः३० बजे अपरान्दह सके तापनि अदालतले फैसला नदिएर पुनः २९ गते बुधबारको लागि पेशी दिएको छ ।
कैदीहरुलाई उच्च अदालतमा ल्याउनु अगाडि सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यहाँ विभिन्न फाइलहरुमाथि उनीहरुलाई जबरजस्ती कुटपीट गरी साइन गर्न लगाइएको थियो । सो कुरा कैदीहरुले आफ्नै मुखले अदालतको परिसरमा बताएका छन् ।
स्मरणीय छ, अहिलेसम्म धनुषा प्रहरीले म्याद समेत नथमाएर गैरकानूनी रुपमा गैरन्यायिक हिरासतमा कैदीलाई राख्दै आएका थिए । उनीहरुसमक्ष बयानको नाउँमा केही सामान्य सोधपूछ गरी आफू मनपरी कुरा लेखेर हिरासतमै उनीहरुलाई त्यसमाथि हस्ताक्षर लिन प्रहरीले खोज्दा उनीहरुले अहिले सम्म अस्वीकार गर्दै आएका थिए ।
त्यसवापत हिरासतमा उनीहरुले यातना खेप्नु परेको थियो ।



