
हुलाकी न्यूज, जनकपुर २४ मंसिर । गत मंगलबार जनकपुरमा विवाहपंचमीको मेला पश्चात् नगरमा रहेको फोहरमैला सरसफाई गर्दा पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका १७ जना समर्थकको पक्षबाट बिहीबार बन्दी प्रत्यक्षीकरणको मुद्दा जनकपुर उच्च अदालतमा दायर गरिएको छ ।
सोको बहस शुक्रबार भएर उच्च अदालतले प्रतिवादी जिल्ला प्रहरी कार्यालय, धनुषा लगायतलाई आइतबार लिखित जवाब र बन्दी समेत लिई हाजिर हुन आदेश जारी गरेको छ ।
उच्च अदालतले आज सो आदेश जारी गरे सकेपछि जिल्ला प्रहरी कार्यालय, धनुषाले सबै बन्दीलाई सरकारी वकिलको कार्यालयमा ल्याएर म्याद थमाउन लगाएका थिए । उनीहरुलाई पूर्णतः गैरकानूनी गैरन्यायिक रुपमा हिरासतमा राखिएको थियो ।
उच्च अदालतको आदेशपछि दबाबमा आएको जिल्ला प्रहरी कार्यालय धनुषाले आज पछिल्लो मिति (ब्याकडेट) राखी बंदीहरुको म्याद थमाएको हुन सक्ने आशंका गरिएको छ ।
अदालतमा उपस्थित हुने क्रममा हिरासतमा रहेका बंदीहरुले आफूमाथि हिरासतभित्र गालीगलौंच र दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
सो को विरोधमा हिरासतमा रहेका उपेन्द्र रोहिता र संजय यादव हिरासत भित्रै बिहीबारदेखि नै अनशन थालेका छन् ।




