
हुलाकी न्यूज, काठमाडौं २२ मंसिर । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले नेपाल सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रस्ताव परिमार्जन भए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सहयोग गर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा मधेशी मोर्चा नेता प्रस्ताव एक कदम सकारात्मक भएको भन्दै प्रस्ताव पारित गराउन मोर्चाले सहयोग गर्ने स्पष्ट पारेका छन् ।
उनले नेपालको विकासको लागि राज्य पूर्नंसरचनाको आवश्यकत्ता महशुस गरेर विगतमा विभिन्न संघर्ष तथा आन्दोलनहरु भएको उल्लेख गर्दै भने,‘हामी सबैको ध्येय मुलुकको पूर्नसंरचना गर्ने थियो, तर अहिले त ठूला दलका शीर्ष नेताहरुको मनोविज्ञान नै पूर्नसंरचना गर्नुपर्नेजस्तो भएको छ ।’
उनले एमाले अध्यक्ष केपी ओलीले संघीयताको सवालमा हालै दिएको अभिव्यक्तिलाई ईंगित गर्दै भने,‘यसलेपनि उहाँको चेतना कति छ भन्ने कुरा देखाउँछ, हामी कता जाँदैछौं भन्ने प्रष्ट हुन्छ ।’



