
हुलाकी न्यूज, काठमाडौं २२ मंसिर । विगत १५ दिनदेखि आमरण अनसनमा रहेका मधेशी नेता विकास तिवारीको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग र बुद्धिजीबीहरुले नेपाल सरकारसँग माग गरेको छ ।
बुधबार आयोग र बुद्धिजीबीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्षसमेत रहेका तिवारीको स्वास्थ्य अवस्था दिनप्रति दिन बिग्रिदै गएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले बुधबार एक विज्ञप्ति जारी गरी तिवारीका जीवन रक्षा एवं स्वास्थ्यप्रति सम्वेदनशील हुन, सार्थक वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएकी छन् ।
यसैगरी, मधेशी तथा आदिवासी जनजाति बुद्धिजीबीहरु सीके लाल, दमननाथ ढुंगाना, खगेन्द्र संग्रौला, पदम रत्न तुलाधर, विजयकान्त कर्ण, डा. भाष्कर गौतम, रुपा झा, रिता साह, दीपेन्द्र झा, दिग्विजय मिश्रा र तुला नारायण साहले तिवारीको जीवन रक्षाका लागि संयुक्तरुपमा अपील गरेका छन् ।



