
रबिन्द्र प्रताप गुप्ता, भैरहवा २२ मंसिर । मंगलबार उद्योगी एवं सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि भएको सांघातिक हमलाको प्रयासमा मधेशी मोर्चाको कुनै पनि संलग्नता नरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले जनाएको छ ।
बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी मोर्चाका नेताहरुले उक्त घटनामा मोर्चाको कुनै संलग्नता नभएको स्पष्ट पारेका हुन् ।
पत्रकार सम्मेलनमा सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले मधेशी जनता र पहाडि जनताबीच साम्प्रदायिक दंगा फैलाउने उद्देश्यले आपराधिक तत्वले घटना घटाएको भन्दै घटनाको सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कडा भन्दा कडा कारवाहीको दायरामा ल्याउन सरकार समक्ष आग्रह गरेका छन् ।
संघीय समाजवादी फोरम नेपाल रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले उद्योग वाणिज्य संघको भैरहवामा र्याली भैरहँदा मोर्चाले धकधईमा भण्डाफोर कार्यक्रमको विषयलाई जोडेर घटनामा मोर्चाको संलग्नता छ भन्ने जस्ता भ्रामक समाचारहरु सम्प्रेषण नगर्न सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् ।
तराई–मधेश लोकतान्त्रीक पार्टीका जिल्ला अध्यक्ष अजय वर्माले मोर्चाले हतियारको राजनीति नभई सधै वैचारिक राजनीतिको पक्षमा रहेको स्पष्ट पारे । उनले यस किसिमको घटनामा मोर्चालाई नजोड्न आग्रह गरेका छन् ।
नेताहरुले उद्योगी न्यौपाने माथि भएको हमलाको प्रयास दुःखद भएको बताउँदै दोषीलाई कारवाही गर्नका लागि मोर्चाले प्रशासनलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।
मंगलबार अखण्ड ५ नम्बर प्रदेशको पक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको पहलमा र्यालीमा सहभागी भएका न्यौपानेलाई साँझ भैरहवाको गल्लामण्डी स्थित आफ्नै व्यवसायीक प्रतिष्ठानमा बसिरहेको अवस्थामा गोली प्रहार भएको थियो ।



