
हुलाकी न्यूज, काठमाडौं २० मंसिर । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले मुलुकको निकासको लागि भनेर सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै यसलाई अतिरञ्जित नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई चेतावनी दिएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री डा. महतले सरकारले देशले निकास पाउँछ भनेर नै संशोधन प्रस्ताव ल्याएको उल्लेख गर्दै यसलाई कसैलेपनि अतिरञ्जित गर्न नहुने बताएका हुन् । उनले भने,‘यसलाई अतिरञ्जित गरियो भने दुर्भाग्यपुर्ण हुन्छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा मन्त्री महतले तत्कालको लागि केही हुन्छ कि भनेर सरकारले अहिलेको संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘यसमा कसैको चित्त बुझेको छैन, स्वभाविक हो, यहाँ सबैले आफ्नो अडान राख्ने हो भने केही पनि हुँदैन् ।’
उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर अहिलेकैजस्तो प्रस्ताव त्यतिवेला ल्याउँदा राम्रो हुने तर अहिलेको सरकारले ल्याउँदा कसरी नराम्रो हुने भन्दै प्रश्न समेत गरे ।
महतले भने,‘उहाँहरुले गर्दा राम्रो हुने अनि हामीले गर्दा कसरी विखण्डनकारी हुने ?’ उनले राष्ट्रियताको लागि आफ्नो पार्टी नेतृत्वले के मात्रै नगरेको भन्दै प्रश्न तेर्साए ।



