
अमर पासमान, सिरहा २० मंसिर । सिरहा अचन्द्रअयोध्यापु–१ का विल्टु र वेचु डोमको घर शनिवार अपरान्ह भत्काएपछि विचल्लीमा परेका छन् ।
विगत ४० वर्षदेखि वस्दै आएका डोम समुदायलाई जाडोको मौसममा भाडामा ल्याएका मानिसहरु लगाएर स्थानीय भरतराज शर्माले घर भत्काएपछि उनीहरु मर्कामा परेका हुन् ।
घरभत्काउने क्रममा उनीहरुले मरिक परिवारमाथि हातपात समेत गरेको पिडितले बताएका छन् । घर भत्काएपछि तराइका अति विपन्न समुदायका डोम परिवारका महिला, बालबालिका सहित १८ जनाको परिवार खुल्ला आकाशमुनी रात विताउन बाध्य भएको छ ।
संजय मल्लिक डोमका अनुसार भरतले २५र३० जनाको समूहमा ल्याएका अपरिचित युवाहरुले भर भत्काएको हो । ‘घर साना नानीहरु सहित भत्काएपछि आफूहरु रातभर नाङ्गो आकाशमुनी बस्न बाध्य छौं’ बेचुले दुखेसो गरे ।
प्रहरीकै अगाडी गुण्डा शौलीम घर भत्काउँदा समेत प्रहरीले केही नगरेको उनीहरुले गुनासो गरेका छन । डोमपरिवारले गुनासो गरेको छ, ‘हामीले प्रहरीलाई दुईचार दिनको समय दिनुहोस्, हामी समाजिक छलफलले जे भन्छ, त्यही मान्छै भन्दा पनि सहयोग गरेनन् ।’
उनले घरमा रहेको सामानहरु पनि लुटेर लगेको बताए । वुहारीको सुनको मंगलशुत्र, घरमा रहेको पैसा समेत लुटेर लगेको आरोप लगाएको छ ।
भरत राजले भने आफ्नो जमिन भएको भएकोले डोमपरिवारको घर अदालतको आदेशमा भत्काएको बताएको छ । २०३५ सालदेखि नै बस्दै आएको डोम परिवारलाई त्यहाँबाट विस्थापीत गर्ने नियत सहित नै शर्माले ७÷८ वर्ष अधि जमिन खरिद गरेको स्थानीयले बताएका छन ।
स्थानीय व्यवसायी तथा समाज सेवी कुलिया यादवले डोमपरिवार बसेको देखि देखि भरतले जमिन किनेर डोम परिवारमाथि अन्याय गरेको बताए ।
यता इलाका प्रहरी कार्यालय मिर्चैयाले आफूरुलाई घटना बारे जानकारी नभएको भन्दै, पीडित परिवारलाई तत्काल बासको व्यवस्था मिलाउन पहल थालेको बताएको छ । प्रहरीको एक टोली आइतबार विहान घटनास्थलमै पुगेर पुगेर तत्काल मरिक परिवारलाई बासको लागि त्रिपालको व्यवस्था गर्ने भएको छ ।
बाँसका सामाग्री बनाएर गुजारा चलाउँदै आएका डोम परिवारको जमिनसमेत आफ्नो नाममा छैन । उनीहरु वर्षौं अघिदेखी बाँझो जमिनमा बसिरहेका छन् ।



