वृजराज कुशवाहा, नवलपरासी, ३ असोज । नेपालको संविधान २०७२ को विरोध गर्दै नवलपरासीमा निषेधित क्षेत्र तोडिएको छ । असोज ३ लाई कालो दिनको रुपमा लिएको मधेशी थरुहट मोर्चाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै परासीको व्यस्त बजार बुद्धचोकमा कालो झण्डा गाडेका छन् । संविधानको विरोधमा नारावाजी गरिएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गरे लगत्तै प्रहरीकै अगाडि टायर बाली मधेश एकताको नारा लगाउँदै प्रहरीको प्रतिकारमा उत्रिएपछि प्रहरी पछाडि हटेको थियो । ड्युटीमा जनपद र सशस्त्र प्रहरीको करीब ६० जना प्रहरी तैनात थिए ।
आफ्नो गन्तब्यमा जादै गरेका एक मोटरसाइकलमा सवार भएकालाई रोकेर ड्युटीमा खटिएको एक प्रहरीले लाठीले पिट्न थालेपछि स्थानीयवासीले प्रतिकार गरेका थिए । प्रतिकार गर्नेहरु बिना कारण प्रहरीले मधेशी भनेर दमन गरेको, हेपेको भन्दै एकत्रित भएका स्थानीयवासी, व्यापारीहरु एकबद्ध भई नारा लगाउँदै प्रहरी विरुद्ध खनिएपछि प्रहरी फिर्ता भएको थियो । ड्युटीमा रहेका प्रहरी निरीक्षकले माफी मागेपछि स्थिती समान्य बनेको थियो ।
त्यस्तै संयुक्त लोकतान्त्रिक मधेशी थरुहट मोर्चाका कार्यकर्ताले नवलपरासीमा विरोध जुलुस पनि निकालेका छन् । विरोधमा जिल्लाका विभिन्न क्षेत्रबाट आएका हजारौं प्रदर्शनकारीले मुखमा कालोपट्टी बाँधी कालो झण्डा सहितको जुलुस निकालेका थिए । प्रदर्शनको अगुवाई मोर्चाले गरेको थियो । जिल्लामा विभिन्न मोर्चामा रहेका कार्यकर्ता आजको मौन जुलुसमा एकबद्ध भएको देखियो ।
परासीको शान्तिचौरबाट निकालिएको मौन जुलुस बालगोविन्द पेट्रोलपम्प हुँदै मन्झरिया चोक पुगेर फिर्ता भई शान्तिचौरमा कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरुले ३ दलले संविधानको नाममा मधेशमाथि अन्याय र शोषण गर्ने रणनीति बनाएको खुलासा गरेका थिए । जुलुसमा नवलपरासीको निर्वाचन क्षेत्र नं. ४, ५ र ६ का स्थानीयवासी स्वतःस्फुर्त रुपमा उत्रेका थिए । जुलसमा महिलाहरुको पनि उलेख्य सहभागिता रहेको थियो ।
नवलपरासीको सदरमुकाम परासीका साथै कावासोती नगरपालिकाको डण्डामा पनि बृहत जुलुस गरिएको छ । थारु कल्याणकारीणी सभाका संयोजक गणेशमान महतोको संयोजकत्वमा डण्डाबाट निकालिएको जुलुस कावासोती फलफूल चोकमा पुगेको थियो । जुलसमा मोटरसाईकल र साईकलमा सयौं कार्यकताहरु सहभागी भएका थिए ।
नवलपरासी मोर्चाका संयोजक मुकुरजी गिरीले सरकारले आज सांझ गर्न भनेको दिपावली परासीमा कसैले गरे मधेशको विरोध गरेको ठहरिने र मोर्चाले कडा कारवाही गर्ने उर्दी जारी गरिएपछि परासी क्षेत्रमा मधेशी वा पहाडीले दिपावली गर्ने मानसिकतामा नरहेको बुझिएको छ । असोज ४ गतेका दिन जिल्लामा हुन सक्ने अशान्तिलाइ मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले अत्यधिक मात्रामा प्रहरी परिचालन गर्ने बुझिएको छ ।







