
हुलाकी न्यूज, काठमाडौं १७ मंसिर । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमालेले मधेशीहरुको विरोध गर्दै आएको आरोप लगाउँदै एमाले संघको पक्षमा नरहेको बताएका छन् ।
शुक्रबार रिपोर्टर्स् क्लब नेपालले आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा अध्यक्ष ठाकुरले भने, ‘संघीयता हाम्रो आवश्यकत्ता हो, तर एमालेको लागि बाध्यता हो, त्यसकारण उ आन्दोलनमा जाने तरखरमा छ ।’
‘यो ग्यारेन्टी छैन कि यो प्रस्ताव मूल रुपमा पारित हुन्छ कि हुँदैन?’, उनले अघि थपे,‘ग्यारेन्टी पनि भएन नि, सरकारद्वारा बनाईएको आयोग अनुसार प्रस्ताव आउनुपर्छ, तर अहिले प्रस्ताव यसरी आएको छैन, अहिले नवलपरासीको मात्रै किन ? झापा, मोरङ्, सुनसरी, कैलाली र कञ्चनपुर किन नहुने, राज्यपूर्नसंरचना समितिले पनि झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश मानेको हो, नाम मात्रै न किटेको हो ?’ उनले सिमांकनबारे नवलपरासीको पुरै भाग मधेशमा हुनुपर्ने समेत स्पष्ट पारे ।
उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पालामा पनि संशोधन प्रस्ताव आएको उल्लेख गर्दै थपे,‘त्यतिवेला काँग्रेस र एमालेले संशोधन प्रस्ताव आफुखुशी ल्याएकै हो नि ।’



