tharuhat-tharuwan
हुलाकी न्यूज, कैलाली १७ मंसिर ।
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरबारे कुनै सम्बोधन नगरेको भन्दै थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीले मंसिर २४ गते कैलाली कञ्चनपुर बन्द गर्ने निर्णय गरेको छ ।

समितिले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संशोधन विधेयक विरुद्ध मङ्सिर २२ गतेदेखि औपचारिकरुपमा आन्दोलन थाल्ने सङ्घर्ष समितिका कार्यबाहक संयोजक कृष्णकुमार चौधरीले बताए । ‘सरकारले पटक–पटक थारुहरुका माग बेवास्ता गरेका कारण प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी आएकै दिन मङ्सिर २२ गतेबाट आन्दोलन सुरु हुन्छ’ संयोजक चौधरीले भने ।

आन्दोलन सुरु हुनुअघि तीन दिन क्षेत्रीय भेला र प्रशिक्षणको कार्यक्रम गर्ने जनाइएको छ । राज्यले युगौंदेखि थारुको मुद्दा सम्बोधन गर्नुको साटो दमन गर्दै आएकाले अब निर्णायक आन्दोलन गर्ने चौधरीको भनाइ थियो ।

विगतमा भएको सम्झौताको पालना गर्दै प्रादेशिक सीमाङ्कन हेरफेर गर्नु पर्ने उनीहरुको माग छ। थारुहरुले नवलपरासीदेखि कञ्चनपुरसम्म तराईमा एक प्रदेश र झापा, सुनसरी, मोरङलाई प्रदेश नम्बर २ मा मिलाउनु पर्ने माग गर्दै आएका छन् ।

त्यस्तै, टीकापुर घटनामा संलग्नताको आरोपमा थुनिएका आन्दोलनकारीको निशर्त रिहाई र मुद्दा फिर्ताको माग समेत गरेका छन् ।
थरुहटले मङ्सिर २४ गते कैलाली, कञ्चनपुर बन्दको घोषणासमेत गरेको छ । तस्वीर : थारुवान डटकमबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.