
हुलाकी न्यूज, काठमाडौं १६ मंसिर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र संयुक्त राष्ट्र संघका राजनीतिक मामिला विभागका निर्देशक क्रेग जेनेशबीच भेटवार्ता सम्पन्न भएको छ । सरकारद्वारा दर्ता गरिएको संविधान संशोधन, स्थानीय निकायको निर्वाचन, मोर्चासहित संघीय गठबन्धनको आन्दोलन लगायत मुलुकको समसामयिक राजनीतिक विषयमा दुवै पक्षबीच छलफल भएको छ ।
फोरम नेपालको केन्द्रीय मुख्यालय तीनकुनेमा बिहिबार भएको भेटवार्तामा अध्यक्ष यादवले संविधान संशोधनको बिषयमा मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले सरकारद्वारा आग्रह गरिएको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्न अस्वीकार गरेको जानकारी गराएका छन् । उत्पीडित समुदायका लागि आन्दोलनकारीले उठाएको मुद्दाहरुलाई संशोधनले सम्बोधन गर्ने अवस्था नदेखेको यथास्थितिमै समर्थन गर्न नसकिने यादवले बताए ।
राष्ट्र संघका राजनीतिक मामिला विभागका निर्देशक जेनेशले नेपालको संविधानको कार्यान्वयन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनमा राष्ट्र संघको भूमिकाका सम्बन्धमा जिज्ञाशा राखेका थिए । जवाफमा अध्यक्ष यादवले आन्दोलनकारीले राखेको मुद्दा र मागहरु समेटेर संविधान संशोधन नभएसम्म स्थानीय निकायको निर्वाचनको कुनै औचित्य नभएको बताएको छलफलमा सहभागी संघीय समाजवादी फोरम नेपालको विदेश विभाग सचिव भरत गुरुङले जानकारी दिए ।
मधेशसहित देशभर भएका अधिकार प्राप्तिको आन्दोलनमा सरकारको तर्फबाट भएको दमन र मानव अधिकार उल्लंघनका घटना छानविन गरी दोषिमाथि कारबाहीका लागि राष्ट्र संघले झन् बढी चासो र अग्रसरता लिनु पर्ने अध्यक्ष यादवले भेटमा आग्रह गरेका थिए ।
राज्य पुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा राज्य पुनर्संरचना, राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको संघीयता, राज्यका सबै अङगमा समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, स्वायत्तता र स्वशासन, संघीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकारका सबै खाले विभेद्को अन्त्य आदि समस्याहरु सम्बोधन भए मात्र मुलुक शान्ति, स्थिरता, सम्बृद्धि र विकासको दिशामा अग्रसर हुन सक्ने यादवले आफ्नो धारणा राखेका थिए ।
जेनेशको नेतृत्व गरेको भेटवार्ता टोलीमा नेपाल स्थित राष्ट्र संघका प्रमुख लगायत अन्य सात जना उच्च अधिकारीहरु सहभागी थिए ।



