
हुलाकी न्यूज, काठमाडौं १५ मंसिर । ११ बुँदे मागअनुसार संविधान संशोधन प्रस्ताव दर्ता नभए संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको चेतावनी दिँदै आएको थियो ।
तर, मोर्चाको मागलाई सम्बोधन नै नहुने गरी सरकारले मंगलबार राति संशोधन प्रस्ताव दर्ता गराएको छ । बुधबार बसेको मधेशी मोर्चाको बैठकले दर्ता भएको संशोधन विधेयकबारे कुनै ठोस निर्णय पुगेन ।
बुधबारको बैठकबाट मधेशी मोर्चाले संशोधन विधेयकका बारे मध्यमार्गी धार अपनाएको छ । मोर्चाको निर्णयानुसार दर्ता गराइएको विधेयकलाई यथास्थितिमा स्वीकार गर्न नसकिने जनाइएको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकमा सहभागी मोर्चाका नेताहरुबीच फरक–फरक विचार आएको थियो ।
बैठकमा केही नेताहरुले दर्ता गरिएको प्रस्तावको सकारात्मक कुरालाई मान्दै अगाडि बढ्नुपर्ने बताएका थिए भने कतिपय नेताले आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए ।
संशोधन विधेयकबारे थप छलफलका लागि बिहीबार दिउँसो ११ बजे फोरम नेपालको कार्यालयमा मधेशी मोर्चासहित संघीय गठबन्धनको बैठक बोलाइएको छ ।
संशोधन विधेयकले मधेशी मोर्चाको कुनै पनि माग सम्बोधन गरेको छैन । तर, मोर्चाका कतिपय नेताहरु यस प्रस्तावलाई सकारात्मक लिएका छन् । आन्दोलनमा जानुभन्दा सदनभित्रै संघर्ष गर्नुपर्ने धारणा राखेका छन् ।
मोर्चाको बैठक सहभागी रहेका अधिकांश युवा नेताहरुले मोर्चालाई संशोधनको ‘ललिपप’मा नफस्न आग्रह गरेका थिए । तत्कालै आन्दोलन घोषणा गरी संशोधन विधेयक परिमार्जनका लागि दबाब दिन आग्रह गरेका थिए ।




